काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्न सुरू गर्दैछ । इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, व्यावसायिक र निजी गरी चार प्रकारका हुनेछन् । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना रोकिने विभागका प्रवक्ता डा.टोकराज पाण्डेले  जानकारी दिनुभयो ।

‘इम्बोस्ड नम्बर प्लेट चम्किलो हुने भएकाले टाढैबाट देखिन्छ, यो नं प्लेट भएका सवारी कहाँ के गर्दैछन् भन्ने पहिचान गर्न उपत्यकाका पाँच नाका र उपत्यका बाहिर पाँच स्थानमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ केन्द्र स्थापना गरिनेछ’ प्रवक्ता डा.पाण्डेलेभन्नुभयो ।

केन्द्रबाट यो नम्बर प्लेट भएका सवारी कहाँ के गर्दै छन् भन्ने जानकारी लिन सकिन्छ । सवारीमा विद्युतीय नम्बर प्लेट राखिसकेपछि दुर्घटना भएमा छिटो पहिचान गरी उद्धार गर्न सकिन्छ । यसका लागि अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको विभागले जनाएको छ । पाँच वर्षमा २५ लाख सवारी साधनमा विद्युतीय नम्बर प्लेट राख्ने विभागको योजना छ ।

यो नम्बर प्लेट राख्न ठूला चारपांग्रे सवारीका लागि तीन हजार ६ सय , मझौला चारपांग्रे सवारीका लागि तीन हजार २ सय, ट्याम्पो, रिक्सालगायत तीनपांग्रे सवारीका लागि दुई हजार ९सय र मोटरसाइकललगायत सवारीका लागि दुई हजार ५ सय दस्तुर तोकिएको छ ।

Comments

comments