मेलबर्न । नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा अष्ट्रेलियाको मेलबर्नमा तीज मेला २०१७ भव्यताका साथ सम्पन्न भएको छ ।

नेपालकै झल्को दिनेगरी तीजको रंगीचंगी पोशाकमा सजिएका पाँच सय भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको मेला शनिबार सम्पन्न भएको हो ।

नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभले आयोजना गरेको तीज मेलामा यसवर्ष महिला अधिकार र लैंगिक समानताको नारा अघि सारिएको थियो ।

त्यसैले तीज मेलाबाट उठेको रकमको केही हिस्सा ईन्टरनेशनल ओमन्स डेभलपमेन्ट एजेन्सी आईडब्लूडीएलाई प्रदान गर्ने भएको छ । आईडब्लूडीएले महिलाको उत्थान र विकासमा काम गर्दै आएको छ ।

स्थानीय थनवरी थियटरमा भएको न्याभ तीज मेलाको मूख्य आकर्षणका रुपमा लोकगायिका सुनीता दुलाल रहेकी थिईन् ।

हरेक वर्ष तीज गीत सार्वजनिक गर्दै आएकी गायिका दुलाले यसपटक पनि दरखाने दिन बोलको गीत ल्याएकी छिन् ।

उनले गीत गाउँदै गर्दा सहभागीहरु तालमा ताल मिलाउंदै कम्मर मर्काइरहेका थिए ।

तीज मेलामा सुनीता दुलालको प्रस्तुतिसँगै फोटो सेसन, फेशन शो समेत गरिएको थियो ।

अघिल्लो वर्ष समेत तीज मेला आयोजना गरेको न्याभले नेपाली समुदायलाई एकताबद्ध गराउने गरि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

Comments

comments