राजविराज । हरेक वर्षायाममा बाढीले बस्ती र खेतका गह्रा डुबानमा पार्ने उच्च जोखिम रहेका सप्तरीमा नदी नियन्त्रणका लागि गरिएको लगानी बालुवामा पानी हालेसरह भएको छ ।

नदी नियन्त्रण र व्यवस्थापनमा करौंडो खर्च हुँदै आए पनि सप्तरीमा बर्सेनि आउने बाढीले दर्जनौ गाउँबस्ती डुबानमा पर्ने गरेको छ । यसपटक आएको बाढीले जिल्लाको ८० प्रतिशत भूभाग जलमग्न बनायो ।

गत साता कोसीसहित खाँडो, महुली, जितालगायत दर्जन बढी खोलामा आएको बाढीले ३० हजार घरपरिवारका साढे एक लाख व्यक्ति प्रभावित भएको र तीन हजार विस्थापित बनेको नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले बताए ।

खाँडो खोलाको बाढी नियन्त्रणका लागि रुपनी राजमार्गदेखि कुनौलीसम्म बनाउनुपर्ने २४.३ किलोमिटर बाँध निर्माणमा गत वर्ष पनि १४ करोड २१ लाख छुट्याइएको थियो । तर, तीनवटा योजना अपूरो रहेको र दुईवटा योजना स्थानीयको प्रतिकारले बन्न नसकेको खाँडो नदी नियन्त्रण आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख अखलाक सिद्दिकीले बाढीले ठाउँ–ठाउँमा तीन किलोमिटर बाँध भत्केको र साढे तीन किलोमिटर बाँध कटान हुँदा तीन करोड २० लाख क्षति भएको जानकारी दिए ।

असारमा निर्माण सम्पन्न गरेको बाँधमध्ये रायपुरमा एक सय २० मिटर, दिघवामा ७५ मिटर, कदमाहामा एक सय ५० मिटर, बिरौलमा पाँचसय मिटर, देउरी भरुवामा सात सय ५० मिटर र सकरपुरामा तीन सय ५० मिटर बाँध कटान भएको छ । दिघवा, कमलपुर, देउरी भरुवा, विषहरिया, लौनियालगायत ठाउँमा साढे तीन किलोमिटर बाँध कटान भइरहेकाले ती ठाउँ अझै जोखिमयुक्त छ ।

बाँध नजिकैको बालुवा थुपारेर बनाइएका र मर्मत गरिएका अधिकांश बाँध भत्किनुमा इमानदारीपूर्वक काम नभएको र राम्रोसँग अनुगमन निरीक्षण नभएको राजविराज १५ का वडासचिव परशुराम यादवको दाबी छ । नदीमा स्पर–डेन नराखी, क्रेटिङ नगरी बाँधको नाममा खाँडोकै बालुवा थुपार्ने काम मात्रै भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले पनि संरक्षण नहुने गरी नजिकैको बालुवाले मात्र बाँध बनाएका कारण सप्तरीले बढी क्षति व्यहोर्नुपरेको बताए ।

कोसी नदीको पानी उल्टो बग्न थालेपछि सप्तरी हुँदै बग्ने विभिन्न खोलाको पानी थुनि दिएकाले सीमावर्ती गाउँ सामान्य वर्षामा पनि डुवानमा पर्ने गरेको छ । जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयका प्रमुख रामनरेश मण्डलले कोसीको पानीले यताबाट बग्ने पानी थुनिदिएको बताए ।

विभिन्न खोलामा करिब २५ किलोमिटर बाँध निर्माणको कामका लागि व्यवस्थापन कार्यालयमार्फत गत वर्ष खर्च गरेको करिब १६ करोड रुपैयाँको लगानी पानीमा बालुवा खनाएझैं भएको छ । महुली खोलाको धार परिवर्तन भएर भेडिया, लोहजरा, जण्डौलमा ठूलो क्षति पुर्‍याएको जनाउँदै डिई मण्डलले बाढीका कारण सुन्दरी खोलामा पाँच ठाउँ, पौडा खोलामा दुई ठाउँ, जिता खोलामा चार ठाउँ क्षति पुगेको बताए ।

धार परिवर्तन गरी गाउँ पसेको महुली खोलालाई पुरानै धारमा नल्याए गाउँ सखाप हुनेछ । कार्यालयले लगानी गरेको विभिन्न खोलाको २०औं ठाउँमा क्षति पुगेको छ । जिटिजेडले बनाएका बाँधहरूको संरक्षण नहुँदा क्षतविक्षत भएको छ । सबै नदी, खोला गरेर १५ करोड बढी क्षति भएको डिई मण्डलले बताए ।

वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जिल्लाको ८० प्रतिशत धान पूर्णतया नष्ट भएको जानकारी दिए । धान, तरकारी र माछामा गरी १३ करोडको क्षतिको तथ्यांक संकलन भएको र बाँकी संकलन कार्य भइरहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयले बाढीका कारण चार जनाको ज्यान गएको र बाटोघाटो, सडक, पुल, नहर, भवनलगायतका संरचनामा करौडोको क्षति भएको बताए । बाढीले प्रत्येक वर्ष झै गत साउन २५ देखि २९ गतेसम्म परेको अविरल वर्षा र बाढीले जनधनको क्षति गर्दै अर्बौ भौतिक संरचना ध्वस्त बनाएको छ ।

जताततै बाटोघाटो, पुल, सडकमा पुगेको क्षतिले आवतजावतमा कठिनाइ भएको छ, उठिवास लगाएकाहरू सडक किनारमा पाल टाँगेर असुरक्षित जीवन बिताइरहेका छन् । बाढीले पुर्‍याउने क्षति न्यूनीकरणको पूर्वतयारी गर्न नसके पनि वर्षा कम भएपछि जमेको पानी निकासका लागि कुनै उपाय अवलम्बन गरिएको देखिँदैन । विस्थापितहरूलाई पुनःस्थापित गर्न महिनौं लाग्ने र भौतिक संरचना पुनर्निर्माण गर्न वर्षौं लाग्ने देखिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments