दाउन्ने । नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ । पहिरोले भासिएपछि यो राजमार्गमा सवारीसाधन गुड्ने सम्भावना न्यून रहेको जिल्ला ट्राफिक प्रमुख धमेन्द्र रावलले बताउनुभएको छ ।

सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग पुरै ठप्प भएको छ । शुक्रबार रातिदेखि पहिरो गएपछि राजमार्गमा सवारीसाधनको ठूलो चाप रहेको छ । यात्रुलाई बैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले आग्रह गरेको छ ।

राजमार्ग अबरुद्ध भएपछि सवारीको लामो लाइन लागेको छ । दाउन्ने पूर्व र पश्चिम करिब १० किलोमिटरसम्म सवारीको लाम लागेको इलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ ।

लामो समयसम्म सवारी जाम भएपछि यात्रुले सास्ती भोगेका छन । दाउन्ने आसपासका कम्तीमा १० ठाउँमा साना पहिरो खसेको छ भने घिउखोलामा पनि अर्को पहिरो खसेको छ । पहिरो पन्छाउने क्रम जारी रहेको छ ।

नवलपरासीका धेरै भूभाग डुबानमा
यसैबीच नवलपरासीको प्रदेश नं ५ अन्तर्गत पर्ने पश्चिमीखण्डमा लगातारको बर्षाले अधिकांश क्षेत्र डुबानमा परेको छ । राजमार्ग क्षेत्रमा पानी जमेका कारण यातायात सुचारु हुन सकेको छैन । सयाँै घरमा पानी पसेको छ ।

बर्दघाट, सुनवल, रामग्राम नगरपालिका, पाल्हीनन्दन, प्रतापपुर, सरावल गाउँपालिकाका अधिकांश बस्ती डुबानमा परेका छन् । सरावलको ६ र ७ मा झरही खोलाको पानी पस्दा ७० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Comments

comments