काठमाडौँ। सरकारले आगामी हिउँदमा लोडसेडिङ हुन नदिन भारतबाट थप सय मेगावाट बिजुली ल्याउने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय लाइनमार्फत थप १०० मेगावाट विद्युत् आयात गर्ने भएको हो । निर्माण सम्पन्न भएको ६ महिनाभन्दा भइसक्दा पनि बिजुली ल्याउन नसकिएको रक्सौल परवानीपुर र कुशाहा कटैया अन्तरदेशीय प्रसारणलाइनमार्फत यो बिजुली आयात हुने भएको हो ।

भारतीय पक्षले महँगो मूल्य प्रस्ता गरेकाले प्राधिकरणले वर्षाको समयमा ती प्रसारण लाइनबाट थप विद्युत् आयातको विषयमा निर्णय गर्नसकेको थिएन । नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले कटैया-कुशाहा र रक्सौल-परवानीपुर १३२ केभी नयाँ प्रसारण लाइनबाट थप विद्युत् आयात गर्ने निर्णय गरेको छ । यो बिजुलीको मूल्य समेत तय गरिएको छ ।

ती प्रसारण लाइनबाट ५०-५० मेगावाट विजुली प्रतियुनिट ८.८८ (भारु ५.५५) मा आयात हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो ।

बैठकले तोकेको नयाँ मूल्य सन् २०१८ को मार्चसम्म कायम हुनेछ । आदानप्रदान समितिको निर्णयपछि आगामी हिउँदमा भारतबाट थप ११० मेगावाट विद्युत् आयात हुने भएको छ । हाल भारतबाट ३८० मेगावाट विद्युत् आयात भइरहेको छ । यो निर्णयपछि अब भारतबाट करिब ५०० मेगावाट विद्युत् आयात हुनेछ ।

थप प्रसारण लाइन निर्माणको प्रस्ताव

आदानप्रदान समितिको बैठकमा प्राधिकरणले भारतीय पक्षसँग तीनवटा १३२ केभी र दुईवटा ३३ केभी नयाँ प्रसारण लाइन निर्माणको प्रस्ताव राखेको छ । अधिकारीकाअनुसार पलिया-धनगढी र अत्तरिया, नानपारा-कोहलपुर र सम्पतीया-मैनैयामा १३२ केभी तथा नानपारा-खडिया र नौतनवा-भैरहवामा ३३ केभी लाइन निर्माणको प्रस्ताव राखिएको छ ।

बैठकको नेतृत्व नेपालको तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतका तर्फबाट केन्द्रीय विद्युत प्राधिकरणका प्रतिनिधिले गर्नुभएको थियो । यसअघि बैठक सन् २०११ मा बसेको थियो । उक्त बैठक बस्न नसक्दा नेपालले आयात गर्दै आएको विद्युत्को मूल्य प्रतियुनिट ११ सम्म तिर्नु परेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments