काठमाडौं । आर्थिक वर्ष ०७३ र ७४ को खुद मुनाफाबाट वाणिज्य बैंकहरूले १० देखि ४६ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ । मंगलबारसम्म १२ वाणिज्य बैंकहरूले गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यी बैंकहरूले आर्जन गरेको खुद मुनाफाबाट सञ्चितमा २० प्रतिशत र सामाजिक दायित्वको १ प्रतिशत रकम छुट्याउनुपर्छ । सो छुट्याइएको रकमपछि लाभांश वितरण गर्दा बैंकहरूको क्षमता यस्तो देखिएको हो । सबैभन्दा धेरै लाभांश वितरण गर्ने क्षमता नबिल बैंकमा देखिएको छ । गत आवमा ३ अर्ब ६२ करोड रुपैयाँ मुनाफा कमाएको बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड रुपैयाँ छ ।

सञ्चित रकम र सामाजिक दायित्व छुट्याएपछि बैंकले ४६ दशमलव २४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ । हालसम्म सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा कम लाभांश वितरण गर्ने क्षमता लक्ष्मी बैंकको देखिन्छ । चुक्ता पुँजी भने ७ अर्ब ४७ करोड रुपैयाँ रहेको बैंकले असार मसान्तसम्ममा १ अर्ब २४ लाख खुद नाफा आर्जन गरेको छ ।

सेयरमा प्रतिफल घट्यो

आर्थिक वर्ष ०७३ र ७४ को वित्तीय विवरणअनुसार १२ कम्पनीहरूको औसत सेयर प्रतिफल (आरओई) भने घटेको छ । अघिल्लो आवमा १८ दशमलव ९९ प्रतिशत बिन्दु रहेको यी बैंकहरूको सेयरमा प्रतिफल गत आवमा १६ दशमलव ८३ प्रतिशत बिन्दुमा झरेको छ । चुक्ता पुँजीको तुलनामा बैंकहरूले नाफा बढाउन नसक्दा सेयरमा प्रतिफल घट्न पुगेको हो ।

चुक्ता पुँजी ३३ दशमलव ८२ प्रतिशत बढेको बैंकहरूको खुद नाफा भने ३२ दशमलव ८९ प्रतिशत बढेको छ । अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका १२ वाणिज्य बैंकहरूमध्ये ५ कम्पनीको आरओई औसतभन्दा कम छ । नबिल बैंक र प्रभु बैंकले सो अवधिमा आरओई बढाउन सफल भएका छन् । सो अवधिमा बैंकको चुक्ता पुँजी न्यून प्रतिशत बढ्दा नाफा २८ दशमलव ४३ प्रतिशत बढेको छ ।

असार मसान्तसम्म १ अर्ब ७२ करोड रुपैयाँ खराब कर्जा संकलन गर्न सफल भएको प्रभु बैंकको आरओई २२ दशमलव शून्य ८ पुगेको छ । अघिल्लो आवमा यस बैंक आरओई १८ दशमलव ३७ रहेको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने खुद मुनाफा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको तुलनामा यस बैंकको चुक्ता पुँजी भने बढेको छैन ।

समीक्षा अवधिमा लक्ष्मी बैंकको आरओई सबैभन्दा कम रहेको छ । अघिल्लो आवमा १२ दशमलव ८९ प्रतिशत रहेको यस बैंकको आरओई गत आवको असार मसान्तमा घटेर ११ दशमलव ६९ प्रतिशतमा सीमित भएको छ । आव ०७२/७३ को असार मसान्तको तुलनामा गत आवको सोही अवधिमा करिब साढे २ गुणा चुक्ता पुँजी वृद्धि गरेको बैंकको खुद नाफा ४८ दशमलव शून्य ५ प्रतिशत बढेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments