काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै भएको स्थानीय तह निर्वाचनका क्रममा एउटा गाउँपालिका जित्न ४ देखि ५ करोड खर्च गरेको खुलासा गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ३ अन्तरगतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुको प्रशिक्षण बैठकमा अध्यक्ष प्रचण्डले यस्तो खुलासा गर्नुभएको हो ।

‘भर्खरै ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन भएको छ । एउटा गाउँपालिका जित्न ४–५ करोड खर्च भएको छ, यो सामान्य कुरा होइन । बिहान बेलुका छाक टार्न मुस्किल हुनेहरु क्षमता र जनविश्वास भएर पनि निर्वाचन जित्न सक्दैनन्’, उहाँले भन्नुभयो, ‘यो धनीले मात्र जित्ने र प्रतिभा एवम् जनसमर्थन भएर पनि गरिबले हार्ने निर्वाचन प्रणाली हो । यसलाई बदल्नुको बिकल्प छैन ।’

अध्यक्ष प्रचण्डले पार्टीबीच चुनावमा प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक प्रणालीले मात्र निर्वाचनमा देखिएको आर्थिक अराजकता र विकृतिलाई रोक्न सक्ने जिकिर गर्नुभयो । ‘धनीले मात्रै जित्नसक्ने अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बेला भएको छ’, उहाँले भन्नुभयो, ‘अहिलेको निर्वाचन प्रणालीले गरिब, उत्पीडितहरुले जित्न नसक्ने भएकाले यो प्रणाली नै बदल्नुपर्छ ।’

हिटलरले जर्मनीमा राष्ट्रिय समाजवादकै नारा दिएर फाँसीवादको अभ्यास गरेको प्रचण्डले बताउनु भयो । ‘हिटलरले जर्मनीमा राष्ट्रिय समाजवादकै नारा दिएर फाँसीवादको अभ्यास गर्यो । नेपालमा पनि पहाडी र मधेसी राष्ट्रवादको नाममा नश्लवाद हुँदै फासीवादको अभ्यास गर्न खोजिँदैछ’, प्रचण्डले थप्नुभयो, ‘राष्ट्रवादको बिकृत नाराबाट जनता भ्रमित छ । यसले देशलाई नै दुर्घटनामा लैजाने भयानक खतरा पनि छ । त्यसैले यस्तो घातक प्रवृत्तिलाई चिर्न माओवादी जनतामा जानुको विकल्प छैन ।’

माओवादी नभएको भए स्थानीय तह र निर्वाचन दुवै नहुने प्रचण्डले बताउनुभयो । ‘हामी नभएको भए स्थानीय तह र निर्वाचन पनि हुँदैनथ्यो । अहिले स्थानीय तह र निर्वाचन भएको छ । तर, यसलाई उल्टाउने षड्यन्त्र पनि भइरहेको छ’, उहाँले थप्नुभयो, ‘उनीहरुको शक्ति पुग्यो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउँछन् । धर्मनिरपेक्षता उल्टाउने कोशिस भइरहेको छ । यो उल्टियो भने यसकै डिब्बामा बसेर गणतन्त्र उल्टाउने कोशिस हुनेछ ।’

माओवादीसँग सहकार्य गर्ने शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूख मान्नुपर्नेमा जोड दिनुभयो । ‘हिजो आफैँले मानेको एजेण्डा फेर्ने नैतिक अधिकार कांग्रेस–एमालेलाई छैन’ प्रचण्डले भन्नुभयो, ‘नेपालमा कम्तिमा पाँच वर्ष स्थिर सरकार चाहिन्छ । स्थिर सरकारले मात्रै आर्थिक समृद्धि हासिल गर्न, राष्ट्रिय एकता बलियो बनाउन र वैदेशिक हस्तक्षेपबाट जोगाउन सक्छ । यसले मात्रै हिमाल, पहाड र तराई–मधेशलाई जोड्न सक्छ, देशलाई एकताको एउटै सूत्रमा बाँध्न सक्छ ।’

प्रशिक्षणमा अध्यक्ष प्रचण्डले माओवादी र देशभक्तहरुको एकताको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने बताउनुभयो । ‘हामी निर्वाचन लड्यौं, बाबुरामजी, वैद्यजीहरु पनि चुनाव लड्नुभयो, विप्लवजीहरु हामीलाई हराउन पनि चुनाव लड्नुभयो । तर, जनताले उहाँहरु सबैलाई तिमीहरु माओवादी नै हो, माओवादी केन्द्रसँग मिल भन्ने जनादेश दिए’, उहाँले जिकिर गर्नुभयो, ‘हामीलाई पनि जनताले तिमीहरु एक्लैले हुँदैन, एकताका लागि पहल गर भन्ने सन्देश दिएका छन् । जनताको आवाज बुझेर सबै माओवादी र देशभक्त एक हुनुको विकल्प छैन ।’

बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, अग्नि सापकोटा, पम्फा भुसाल, हितमान शाक्य, आहुति, नारायण दाहाल, सूर्य सुवेदी, अञ्जना बिसङ्खे लगायतको उपस्थिति थियो । बैठकमा प्रदेश नं।–३ का १३ जिल्लाका ईन्चार्जहरुले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments