मेलबर्न । श्रोताहरुलाई आफ्नो प्रतिभाले मन्त्रमुग्ध पार्ने कवि नवराज पराजुलीले अष्ट्रेलियाको मेलबर्नमा बस्ने नेपालीहरुमा पनि अमिट छाप छोड्न सफल भएका छन् ।

मेरी आमाले बनाएको
सानो काठको बाकस भर्ने पैसा बोकेर
म अरबबाट घर फर्केँ भने त ठीकै हो
तर
त्यसभन्दा ठूलो रातो काठको बाकसमा
म आफैँ भरिएर फर्कें भने ? ‘

शनिबार आयोजित कविता कन्सर्टमा सम्यक महर्जनको बाँसुरीको धून,चेत पुनको किवोर्ड र गिटार संगै बगेका उनका कविताहरुले मेलबर्नवासी मन्त्रमुग्ध भए ।

अन्तरक्रियाबाट सुरु भएको कार्यक्रम हेब्बी बड़डे कवितामा पुगेर टुंगिएको थियो । उनले वाचन गरेका प्रत्येक कविताले श्रोताहरुलाई भावुक बनाएको थियो। केही सहभागीहरु मन थाम्न नसकेर बाहिर निकिएको समेत देखिन्थ्यो ।

धुलोमा श्वास फेरिरहेका
ती जोडी पैतालाका डोबमध्ये
बुट्टा बिग्रिएको जुन पैताला छ
त्यो मेरो हो ।’

पहिलो पटक आयोजना भएको कविता कन्सर्टमा विभिन्न सांस्कृतिक कार्यक्रममा देखिने जत्तिकै देखिएको स्रोताहरुको उपस्थितिले उनि र उनका कविताहरुप्रतिको श्रोताहरुको मायालाई प्रष्ट बनाएको थियो ।

उक्त भव्य कन्सर्टमा कवि पराजुलीको हालै मात्र सार्वजनिक भएको कविता संग्रह ‘सगरमाथाको गहिराइ’ समेत उपलब्ध गराइएको थियो । कवि पराजुलीको अटोग्राफ सहित पुस्तक हातमा पर्दा साहित्यप्रेमीहरु प्रफुल्लित देखिन्थे ।

‘कक्षा एकदेखि स्नातकोत्तर पढ्दासम्म
तपाईंको टाउको धेरैचोटि पास भएको छ,
हरेक रात तपाईंको ओछ्यानमा
फेल भएर लड्ने मासुको थुप्रो कसको हो ? ‘

कवि पराजुली व्यवसायिक रुपमा कविता वाचकका रुपमा समेत परिचित छन् । उनी ’अल नेपाली पोएट्री स्ल्याम २०१४’ का बिजेता हुनुका साथै ’साताको साहित्य पुरस्कार २०१५ (अष्ट्रेलिया)’ बाट समेत पुरस्कृत छन् । पाकिस्तानको अन्तरास्ट्रिय नाटक महोत्सवमा ’ह्याम्लेट’ नाटकबाट अभिनय यात्रा सुरु गरेका उनी ’थिएटर भिलेज’ नाट्यसमुह अन्तर्गत रङ्गकर्ममा व्यस्त छन् ।

अहिले कविता कन्सर्टको लागि निस्किएका कविले अष्ट्रेलियाका विभिन्न सहरमा कार्यक्रम गरिसकेका छन् । अष्ट्रेलिया बसाईका क्रममा उनले नेपाली संघसंस्था, समुदाय तथा महावाणिज्यदुतको कार्यालयमा समेत भेटघाट गरि अन्तरक्रिया गरेका छन् । उनको आगमनले अष्ट्रेलिया यतिबेला कवितामय बनेको छ ।

Comments

comments