मेलबर्न । अष्ट्रेलियाको पश्चिम मेलबर्नमा भव्यताका साथ तीज कार्यक्रम सम्पन्न भएको छ । नेपलिज अर्गनाइजेसन अफ विनडम र मेलबर्न नेपलिज कम्युनिटी वेस्टको संयुक्त आयोजनामा गत शनिबार कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कला संस्कृतीको जगेर्ना साथै अष्ट्रेलियामा रहेका पछिल्लो पुस्तालाई नेपाली मौलिकताको ज्ञान दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । उक्त तीज कार्यक्रममा संसदको लागि सो क्षेत्रको संघिय सदस्य श्रीमती जोंने रायन प्रमुख अतिथि तथा मेयर हेनरी बार्लो, काउन्सिलर इन्ताज काहना र मिया शओ अतिथि रहनुभएको थियो । त्यस्तै नेपाली अतिथिहरुमा महावाणिज्यदुत चन्द्र योञ्जन, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष केशव कंडेल, न्याभ अध्यक्ष डा. अनुपम पोखरेल र समाजसेवी रामकुमार श्रेष्ठ हुनुहुन्थ्यो।

नेपाली र अष्ट्रेलियन राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा नेपाली चेलीहरुको शृंगार र नाचगानबाट अतिथिहरु मन्त्रमुग्ध हुनुभएको थियो । प्रमुख अतिथि रायनले आफ्नो मन्तव्यमा नेपाली चाडपर्व र संस्कृति अत्यन्तै मन पर्ने भन्दै आफू सधै नेपाली समुदायको साथमा रहेको बताउनुभएको थियो भने मेयर हेनरी बार्लोले नेपाली समुदायलाई सहयोग गर्न आफू अधी तत्पर रहेको र नेपालीहरुको समस्या सुन्न आफ्नो कार्यालयको ढोका सधै खुल्ला रहेको बताउनुभयो । त्यस्तै एनआरएन अष्ट्रेलिया उपाध्यक्ष केशव कंडेलले पश्चिम मेलबर्नमा बस्ने नेपाली समुदायको एकता देखेर आफू निकै प्रभावित भएको बताउनुभएको थियो ।

कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका कमल प्याकुरेलले धन्यवाद मन्तव्यका साथमा पश्चिम मेलबर्नमा बस्ने सम्पूर्ण नेपालीहरुलाई आफ्नो मौलिक संस्कृति र पहिचानको जगेर्नाको लागि एकताबद्ध हुन अपिल गर्नुभयो ।

रोशनी श्रेष्ठको स्वागत मन्तव्यद्वारा सुरु भएको उक्त रमाईलो तथा भव्य तीज कार्यक्रममा न्याभ बाल चौतारी पश्चिमका भाइबहिनीहरुले राष्ट्रिय गान तथा स्वागत नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रमको संचालन अनुष्का काफ्ले र एन्जेलिना प्याकुरेलले गरेका थिए भने कार्यक्रमको व्यवस्थापन तथा संयोजन डा. युगेन्द्र रेग्मीले गर्नुभएको थियो ।

Comments

comments