काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा सन्तवीर लामा निर्वाचित हुनुभएको छ । आइतबार बिहान सकिएको मतगणना अनुसार ३ सय ८३ मतसहित लामा अध्यक्षमा चुनिनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी जिङ्बाजाङ्बु शेर्पाले ३ सय १६ मत ल्याउनुभयो ।
संघको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह ३ सय ७० मतसहित विजयी हुनुभयो भने द्वितीय उपाध्यक्षमा ३ सय ८४ मत प्राप्त गरी माया शेर्पा विजयी हुनुभएको छ । त्यस्तै महासचिवमा चुनिएका कुलबहादुर गुरुङले ३ सय ८१ मत ल्याउनुभयो । सचिवमा ३ सय ५० मतका साथ टीकाराम गुरुङ र कोषाध्यक्षमा ३ सय ३२ मत प्राप्त गरी सुदर्शन न्यौपाने विजयी हुनुभएको छ ।

त्यसैगरी सदस्यमा प्राध्यापक डाक्टर हरिप्रसाद श्रेष्ठ, विनय शाक्य, पासाङटेण्डी शेर्पा, सञ्जीव गुरुङ, सिंगी लामा, मिङ्मार शेर्पा, तुलसी गुरुङ, दा गेल्जे शेर्पा र आङछेवाङ शेर्पा विजयी हुनुभएको छ । हिजो भएको चुनावको मतपरिणाम आइतबार बिहान आएको हो । एक हजार ३९ मतदाता रहेकामा ७ सय ६० मत खसेको थियो ।

चुनावबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ सदस्य चुनिएका छन् । तीन वर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमितिमध्ये संस्थागत र आरोहीतर्फबाट पाँचजना निर्विरोध निर्वा्चित भइसकेका छन् भने तीन सदस्य नोमिनेसनबाट चुनिने छन् । त्यस्तै पर्यटन विभागका महानिर्देशक सदस्य र संघका निवर्तमान अध्यक्ष अभिभावक सदस्य चुनिने जनाइएको छ ।

Please follow and like us:

Comments