भैरहवा । रुपन्देहीको भैरहवा–परासी सडकखण्डको रोहिणी नदी किनारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न किनेको जग्गा डुबानमा परेको छ । बिहीबारदेखि लगातार परेको पानीले रोहिणी नदी उर्लिंदा निगमले किनेको बगर जग्गा डुबाएको हो ।

निगमले गत असारमा रुपन्देहीको साबिकका धकधई, पट्खौली र वसन्तपुर गाविसमा करिब १४ बिघा ७ कट्ठा जग्गा खरिद गरेको थियो । त्यसमध्ये १४ कठ्ठा नदीकै बगरमा पर्छ । जहाँ पहिला रोहिणी नदी बग्दथ्यो । नदीले पश्चिमतर्फ कटान गरेपछि पूर्वतर्फ बगर बनेको थियो । अहिले नदीबाट उर्लिएको भेल निगमको जग्गा हुँदै बगेको छ ।

भू–माफियासँग चलनचल्तीको मूल्यभन्दा दोब्बर बढीमा निगमले जग्गा खरिद गरेको थियो । ओमसतिया गाउँपालिका–४ र ५ मा पर्ने रोहणी नदी किनारमा चल्तीको न्यूनतम मूल्य प्रतिकठ्ठा साढे १ लाखदेखि ३ लाख पर्छ । तर, निगमले १० लाख ९३ हजारका दरले खरिद गरेको थियो ।

छानबिन गर्न अख्तियारलाई लेखा समितिको सिफारिस

संसद्को सार्वजनिक लेखा समितिले जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर गर्दै आवश्यक अध्ययन गर्न शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित सिफारिस गरेको छ । समितिले जग्गा खरिदको प्रक्रिया, त्यसमा संलग्न व्यक्ति, सरोकारवाला निकाय र आवश्यक कागजपत्रको सूक्ष्म अनुसन्धान गरी आवश्यक कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको हो ।

‘खरिद गरिएको जग्गा वास्तविक जग्गा धनीहरूसँग खरिद नगरी एजेन्टसँग बोलपत्र माध्यमबाट खरिद सम्झौता गरी खरिद गरेको र खरिद गरेको जग्गाको दररेट सरकारी दररेट र प्रचलित चलनचल्तीको दररेटभन्दा कैयौँ गुणा बढी रहेको देखिएकाले जग्गा खरिद गर्न अपनाइएको विधि, प्रक्रिया र मूल्यको सम्बन्धमा गम्भीर समस्या देखिएकाले खरिद प्रक्रियालाई यथास्थितिमा राखी यस विषयमा विस्तृत छानबिन गरी अनियमितता भएको पाइएमा खरिद प्रक्रियामा संलग्न जिम्मेवार पक्षलाई आवश्यक कारबाही गर्न अख्यितार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने’, समितिको सिफारिसमा भनिएको छ।

जग्गा प्राप्ति ऐन २०३४ बमोजिम खरिद गर्नुपर्नेमा निगमद्वारा सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक प्रशासन तथा खरिदसम्बन्धी विनियमावली २०६४ बमोजिम बोलपत्रको माध्यमबाट प्रक्रिया अगाडि बढाएको विधि र प्रक्रिया नै त्रुटिपूर्ण भएको समितिको ठहर छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments