मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा भोलि सगरमाथाको गहिराइ नापिने भएको छ । शनिबार , अगस्ट ५ का दिन सगरमाथाको गहिराइ, हेब्बी बड्डे, खोया, लोकसेवा लगायतका कविताहरुबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल युवा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट हुन लागेको हो ।

कार्यक्रमको लागि कवि नवराज पराजुली मेलबर्न आइपुगेका छन्  । साहित्य संगीत जमघटको आयोजना र नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको सहकार्यमा सोलाङचरले गर्न लागेको कन्सर्ट दिउँसो २ बजेदेखि ४ बजेसम्म हुनेछ ।

विशुद्ध साहित्यिक जमघटका रुपमा रहने कविता कन्सर्टमा कवि पराजुलीले आफ्नो काव्य यात्रा, समकालिन नेपाली कविताको ढाँचा र साथै आफ्ना चर्चिता कविताहरु प्रत्यक्ष वाचन गर्नेछन् । कवि पराजुलीका कविता निकै लोकप्रिय मानिन्छन् । हालै मात्र उनका कविताहरुको संग्रह सगरमाथाको गहिराइ प्रकाशित भएको छ जसमा ३६ कविता संग्रहित छन् ।

कवि पराजुली व्यवसायिक रुपमा कविता वाचकका रुपमा समेत परिचित छन् । उनी ’अल नेपाली पोएट्री स्ल्याम २०१४’ का बिजेता हुनुका साथै ’साताको साहित्य पुरस्कार २०१५ (अष्ट्रेलिया)’ बाट समेत पुरस्कृत छन् । पाकिस्तानको अन्तरास्ट्रिय नाटक महोत्सवमा ’ह्याम्लेट’ नाटकबाट अभिनय यात्रा सुरु गरेका उनी ’थिएटर भिलेज’ नाट्यसमुह अन्तर्गत रङ्गकर्ममा व्यस्त छन् ।

कविता कन्सर्टमा कवि पराजुलीको कविता वाचनको सथमा सम्यक महर्जनको बाँसुरीवादन र चेत पुनको गितार वादन समेत रहनेछ । कन्सर्टको सहजकर्ताको रुपमा भने शुभ प्रधान रहनेछन् । साहित्य संगीत जमघटको अग्रसरतामा नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभको सहकार्यमा सोलाङ्चरले आयोजना गर्ने कविता कन्सर्टको प्रत्येक टिकट खरिदमा कवि पराजुलीको कविता संग्रह सगरमाथाको गहिराइ उपहार स्वरुप पाइनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments