काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रङ्गशाला स्थापना गर्ने बताउनुभएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले आफ्नो कार्यकालमा सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रङ्गशाला बनाउने बताउनुभएको हो ।

‘नेपालको खेलकुद क्षेत्रलाई सङ्घीय संरचना अनुसार नै रूपान्तरणका लागि ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रङ्गशाला बनाउने छौँ’, उहाँले भन्नुभयो, ‘मैले यसका लागि अहिलेदेखि नै अवधारणा अघि सारिसकेको छु ।’

उहाँका अनुसार नेपालगन्ज, पोखरा, झापा, विराटनगर र जनकपुर लगायतका सहरहरूमा अन्तर्राष्ट्रियस्तरका रङ्गशाला बनाउने योजना छ । त्यस्तै काठमाडौँमा रहेको एकमात्रै अन्तर्राष्ट्रियस्तरको रङ्गशाला भूकम्पपछि  क्षतिग्रस्त भएकाले त्यसको समेत मर्मत भइरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री केसीले आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सबल बनाउन गम्भीर भएर काम गर्ने समेत विश्वास दिलाउनुभयो । ‘खेलकुद क्षेत्रमा अहिले विभिन्न समस्या देखिएका छन्, एन्फा, ओलम्पिकदेखि क्रिकेट सङ्घमा समेत विवाद छन्’, उहाँलेथ थप्नुभयो, ‘हरेक ठाउँमा विवाद छन्, अहिले रहेका एक सय ८० सङ्घ सबैमा समस्या छन्, विभिन्न संघहरुमा देखिएका सबै समस्याहरुलाई हल गर्नुपर्छ।’

खेलकुद क्षेत्रमा देखिएका सबै खाले समस्या हल गरेर अघि बढ्नु नै आफ्नो उद्देश्य र प्राथमिकता रहेको भन्दै सोही बमोजिम काम गर्ने समेत मन्त्री केसीले आश्वासन दिनुभयो । ‘खेलकुदमा राजनीतिकरण भएको छ, यसलाई न्यूनिकरण गर्नु मेरो पहिलो प्राथमिकता हो’, उहाँले भन्नुभयो, ‘म सकेसम्म न्यूनीकरण गर्ने प्रयास गर्नेछु ।’ केसीले खेलकुद क्षेत्रमा कुनै पनि हालतमा राजनीति हुन नहुने धारणा राख्नुभयो ।

उहाँले खेलकुद क्षेत्रलाई व्यवसायीकरण गर्नु आफ्नो अर्को योजना रहेको सुनाउनुभयो । ‘विश्वमा धेरै खेलाडीहरुले खेलकै माध्यामबाट अर्बौँ र खर्बौँ रुपैयाँ आर्जन गरिरहेका छन्,’ केसीले भन्नुभयो, ‘वज्ञापनकामार्फत भनौं या अन्य माध्यामबाट खेलाडीहरुले राम्रो पैसा कमाइरहेका छन् ।’

उहाँले आगामी डेढ वर्षभित्रै नेपालमा हुने साग प्रतियोगिताको तयारीमा नेपाली खेलाडीहरुलाई क्लोज क्याम्पमा होम्याइसकेको समेत जानकारी दिनुभयो । ‘सागका लागि हामीले २८ वटा खेलको तयारी गरेका छौँ’, उहाँले अगाडि भन्नुभयो, ‘अहिलेदेखि नै तयारी धमाधम भइरहेको छ ।’

खेलको विकास गर्न पर्याप्त बजेट अर्थात् एक अर्ब ६० करोड छुट्याइएको समेत उहाँले सुनाउनुभयो । ‘युवाहरुका लागि कम बजेट छ, तर खेलको विकासको लागि धेरै ठुलो बजेट छुट्याइएको छ’, उहाँको जिकिर थियो, ‘त्यहीअनुसार अब हरेक खेलहरुको विकास र स्तरोन्नति हुन्छन्, मेरो कार्यकालमा म परिवर्तनको आभास दिलाएरै छाड्छु ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments