काठमाडौं । बजारमा लामो समयदेखि रहँदै आएको नगद अमेरिकी डलरको अभाव अझै हटेको छैन ।

बैंकहरूले ग्राहकको मागअनुसार डलर दिन नसकेपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरूले पनि सिधै डलर खरिद गरेर ल्याउन पाउने व्यवस्था गत वर्ष नै गरेको थियो । एक–दुईवटा बैंकहरूले मात्र यसमा चासो देखाएका थिए ।

डलर खरिद गरेर ल्याउन इच्छुक बैंकहरूले पनि मंगलबारसम्म सुन ल्याइसकेका छैनन् । बजारमा डलरको माग भने दिनानुदिन बढदै गएको छ । यसकारण मागको तुलनामा आपूर्ति कम भएपछि बजारमा डलर अभाव भएको बैंकरहरूले जनाएका छन् ।

अर्थतन्त्र धान्ने मुख्य स्रोत रेमिट्यान्स आप्रवाहमा कमी, निर्यात बढ्न नसक्नु र पर्यटनमा अपेक्षित सुधार नहुनुलगायत कारण अपेक्षित रूपमा विदेशी मुद्रा (डलर) मुलुक भित्रन सकेको छैन । तर, राष्ट्र बैंकले भने नेपाल आउने विदेशीहरूले नगद बोक्न छाडेकाले समस्या भएको बताएको छ ।

डलरको अभाव धेरै भएपछि राष्ट्र बैंकले गत असोजमा १ करोड डलर आयात गरेको थियो । राष्ट्र बैंकले पहिलोपटक यसरी डलर खरिद गरेर ल्याएको हो । गत वर्ष राष्ट्र बैंकले डलर आयात गरेको डलर बजारमा गएपछि केही महिना अवस्था सहज भए पनि हाल फेरि नगद डलर अभाव भएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताउनु भयो ।

‘पछिल्लो समयमा बजारमा नगद डलरको केही अभाव देखिएको छ’ उहाँले भन्नुभयो, ‘एनआईसी बैंकलगायत केही बैंकले डलर ल्याउँदै छन्, त्यसपछि भने अवस्था अलि सहज होला ।’ नगद डलर अभाव भएकै कारण ग्राहकहरूलाई सम्भव भएसम्म अन्य विकल्प (ड्राफ्, टीटी आदि) हरू प्रयोग गर्न आग्रह गरिरहेको उनले उहाँले बताउनु भयो ।

बजारमा डलरको अभाव बढदै गएपछि डलरको कालोबजारी हुने सम्भावनालाई मध्यनजर गर्दै वाणिज्य बैंकहरूले पनि डलर खरिद गरेर ल्याउन सक्ने सुविधा प्रदान गरिएको सिवाकोटीले बताउनु भयो । ‘हाम्रो उद्देश्य बैंकहरू आफैंले ग्राहकको मागअनुसार विदेशी मुद्रा व्यवस्थापन गरून् भन्ने हो’ उहाँले भन्नुभयो, ‘केही बैंकहरूले प्रक्रिया सुरु गरिसकेका छन् ।’

बैंकहरूमा नगद डलरको समस्या पुरानै भएको बैंकर्स संघका कार्यकारी सदस्य भुवन दाहालले बताए । ‘नगद डलरको अभाव पुरानै समस्या हो, त्यसमा अझै सुधार भएको छैन’ दाहालले भन्नुभयो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सीधै डलर खरिद गरेर ल्याउन पाउने सुविधा दिएपछि एनआईसी एसिया बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मात्र डलर खरिदका लागि प्रक्रिया सुरु गरेका थिए ।

तीमध्ये एनआईसी एसिया बैंकको खरिद प्रक्रिया अन्तिम चरणमा रहेको स्रोतले बताएको छ । राष्ट्र बैंककै परामर्शमा एनआईसी एसिया बैंकले उक्त कम्पनीबाट डलर ल्याउन लागेको हो । ‘सबै काम पूरा भएको छ, एक–दुई दिनमै डलर हाम्रो हात पर्छ,’ बैंक स्रोतले भन्यो । उक्त डलर आइसकेपछि वाणिज्य बैंकहरूमध्येबाट डलर आयात गर्ने एनआईसी एसिया पहिलो बैंक हुनेछ ।

डलरको अभाव भएकै कारण यही साता केही वाणिज्य बैंकहरूले राष्ट्र बैंकमा डलर माग्न गएका थिए । ‘तर, राष्ट्र बैंकले पनि मागेजति डलर दिन सकेको छैन’, स्रोतले भन्यो ।

नयाँ व्यवस्थाअनुसार बैंकहरूले विदेशबाट डलर आयात गर्दा भन्सारलगायत अन्य कुनै पनि कर तिर्नुपर्दैन । बैंकहरूलाई विदेशबाट डलर आयात गर्न प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसरी आयात गरेको डलर बजार मूल्यभन्दा ३० पैसा बढीमा बिक्री गर्न पाउने सुविधा सम्बन्धित बैंकहरूले पाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments