मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा आक्रमण गर्ने आतंककारी समूहको योजना विफल भएको छ ।

एक विमानमाथि गर्न खोजिएको आतंककारी आक्रमण प्रहरीले असफल पारेको प्रधानमन्त्री माल्कम टर्नबुलले बताएका छन् । आतंककारीले एक विमानमा आतंककारी आक्रमण गर्ने तयारी गरेको आशंकामा प्रहरीले कारवाही अभियान गरेको प्रधानमन्त्री टर्नबुलले बताए । प्रहरीले सिड्नीमा गरेको कारवाही अभियानको क्रममा आक्रमणको योजना बनाएको आशंकामा चारजनालाई पक्राउ गरेको छ । आतंककारीले विस्फोटक उपकरण प्रयोग गरी विमानमा क्षति पुर्‍याउने तयारी गरेको सूचनाका आधारमा कारवाही अभियान सुरु गरिएको र आतंककारीको प्रयास असफल पार्न सफल भएको प्रधानमन्त्री टर्नबुलले बताए ।

अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र सिड्नीसहित देशभर आतंककारी विरुद्धको अभियान तीब्र पारिएको बिबिसीले उल्लेख गरेको छ । आतंककारीको आक्रमण योजना असफल पारे पनि अझै पनि खतरा भने रहेको सरकारी अधिकारीले बताएका छन् ।

पक्राउ परेका चारजना इस्लामिक विद्रोही संगठनसँग सम्बद्ध रहेको अनुमान गरिएको अस्ट्रेलियाको संघीय प्रहरीले जनाएको छ । पछिल्लो केही दिनदेखि नै सिड्नीमा आक्रमणको तयारी भइरहेको जानकारी पाएको र त्यही आधारमा शतर्कता बढाइएको प्रहरीको भनाई छ ।

Comments

comments