काठमाडौं । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ ।  कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् ।

नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ । केही कतारी कम्पनीले विदेशी कामदारको डिमान्ड नगरेको सत्य हो । केही कम्पनीले नेपालबाट कामदार लिने प्रक्रिया रद्द गरेका छन्ु, कतारस्थित नेपाली राजदूत रमेश कोइरालाले अन्नपूर्णसँग भने । तर, कति कतारी कम्पनीले नेपालबाट डिमान्ड लिन छाडे भन्ने तथ्यांक दूतावास र म्यानपावर एजेन्सीसँग छैन ।

राजदूत कोइरालाले कतारमा हाल कार्यरत नेपालीको रोजगारीमा असर नपरेको बताए । ‘कोही पनि नेपालीले कतारमा जागिर गुमाएका घटना हालसम्म दूतावासको जानकारीमा आएको छैन । उनीहरूको जागिर संकटमा परेको सुनिएको छैनु, उनले भने ।

तर, दुई मुलुकबीच कूटनीतिक सम्बन्ध तोडिएका कारण साउदीस्थित कतारको लगानीमा रहेका कम्पनीमा काम गर्ने नेपालीमाथि परेको छ ।कतारका नागरिकको लगानीमा साउदी अरेबियामा सञ्चालित कृषि र पशुपालन व्यवसायमा कार्यरत ३० भन्दा बढी नेपाली कामदारको रोजगारी गुमेको छ । उक्त संख्या अरू बढी पनि हुन सक्ने उनीहरूको भनाइ छ । ती नेपाली पशुपालन र कृषिलगायत पेसामा संलग्न थिए । उनीहरूमध्ये केही ट्रक ड्राइभर पनि छन् । कतार र साउदीबीच कूटनीतिक सम्बन्धविच्छेदको अवस्था छ । कतारले साउदीमा लगानी गर्ने व्यवसायी त्यसबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क विच्छेद गरेको घोषणापछि नेपालीलाई पर्न सक्ने समस्याबारे सतर्क रहन सरकारको निर्देशन दिएको थियो । साउदीस्थित नेपाली दूतावासका उपप्रमुख आनन्द शर्माले कतारी नागरिकले सञ्चालन गरेका कम्पनीमा केही नेपालीको रोजगारी संकटमा परेकोबारे बुझ्ने काम भइरहेको जानकारी दिए ।

कतारका नागरिकले चलाएका कम्पनीमा नेपाली समस्यामा परेको सम्बन्धमा दोहास्थित नेपाली दूतावासले साउदीस्थित नेपाली दूतावासलाई जानकारी गराएको उनले बताए ।

कतारमाथि नाकाबन्दी लगाउँदै आएको प्रमुख मुलुक साउदीले कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गर्दै कतारमाथि हवाई र जमिनबाट आवागमनमा रोक लगाएको छ । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले ५ जुनदेखि कतारमाथि नाकाबन्दी गरिरहेका छन् । कतारले आतंकवादलाई प्रश्रय दिएको आरोप ती मुलुकले लगाए पनि उसले त्यसको खण्डन गरेको छ ।

श्रम स्वीकृति लिनेको संख्या घट्यो

वैदेशिक रोजगार विभागका अनुसार असारमा कतार जान स्वीकृत लिने नेपालीको संख्या पहिलेको तुलनामा घटेको छ ।मासिक औसत ९ हजार नेपालीले कतार जान स्वीकृति लिने गरेकोमा असारमा ५५ सयले स्वीकृति लिएको विभागका प्रवक्ता मोहन अधिकारीले बताए ।

खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क विच्छेदको घोषणा गरेपछि त्यहाँका नेपालीलाई आउन सक्ने समस्याबारे सतर्क रहन खाडीस्थित नेपाली दूतावासलाई सरकारले एक महिनाअघि निर्देशन दिएको थियो ।

दूतावासले नियमित रूपमा मन्त्रालयलाई कतार संकटबारे अवगत गराइरहेको परराष्ट्रमा खाडी मामिला हेर्ने सहसचिव तीर्थराज वाग्लेले बताए । अहिलेसम्म कतारमा नेपालीलाई कुनै समस्या आउने अवस्था नरहेको उनले बताए ।

कतारसँग जल, स्थल र हवाई सम्पर्क टुटाएको घोषणा अन्य खाडी देशले गरेपछि त्यहाँ हाहाकार हुन सक्ने र त्यसले मानवीय संकट उन्पन्न हुन सक्ने हुँदा त्यसप्रति सचेत रहन परराष्ट्रले दूतावासलाई भनेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments