नयाँ दिल्ली । भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जिउँदै गाडेर छोडेकी छन् । तर ती शिशु खाल्डो भित्रबाट रोएको गाउँलेले सुनेपछि जीवितै निकालिएको छ ।

खाल्डोमा पुरेर छोडेको कयौँ घन्टापछि पनि ती शिशु जीवितै रहेको यस घटनालाई यतिखेर भारतमा आश्चर्यजनक घटनाका रुपमा लिइएको छ ।

एक १६ वर्षीया युवतीले बलात्कृत भएर जन्मिएको त्यस शिशुलाई समाजमा लाजको डरले खाल्डोमा पुरेर छोडेकी थिइन् ।

अविवाहित ती युवतीले मध्यप्रदेशको बरवानीपुरस्थित उनको बुबाको घरमा छोरा जन्माएकी थिइन् । जन्मेको एक हप्तापछि घरभन्दा केही परको चौरमा शिशुलाई गाडेको अवस्थामा गाउँलेले भेटेका थिए ।

उनले शिशुलाई सडक नजिक चौरमा गाडेकी थिइन् । त्यही बाटो भएर गाउँका महिला हिँडिरहेको अवस्थामा बच्चा रोएको सुनेपछि माटो खोस्रेर हेर्दा गाडिएको अवस्थामा भेटाएका थिए ।

त्यसपछि शिशुलाई बरवानी जिल्लाको अस्पताल भर्ना गरिएको छ । शिशुको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको अस्पतालले जनाएको छ ।

‘शरीरभरि लामखुट्टे र किराले टोकेका दाग छन्, माटो उर्छेर शरीर सबै रातो भएको छ’, अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले उपचारमा कुनै कमी गरेका छैनौँ र अहिले शिशुको स्वास्थ्य राम्रो हुदै गएको छ ।’

गतहप्ता भएको उक्त घटनाको जानकारी प्रहरीले शुक्रबार मात्र दिएको हो । प्रहरीले ती युवतीको नाम भने सार्वजनिक गरेको छैन ।

ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा प्रहरीसामु ती युवतीले आफू गाउँकै एक १७ वर्षको युवकबाट बलात्कृत भएर बच्चा जन्मिएको बताएकी छिन् ।

प्रहरीले ती युवकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । त्यस युवकले आफूले ती युवतीसँग विवाह गर्न स्वीकार गरेपनि बच्चा भने नस्वीकारेको जानकारी प्रहरीलाई गराएका थिए ।

ती युवतीका बुबाआमाले पनि त्यस युवकलाई विवाह गर्न दबाब दिएका छन् । तर उसले आफूले बच्चा नस्वीकार्ने बताएको जानकारी युवतीका बुबाले प्रहरीसामू गराएका छन् ।

भारतमा १८ वर्षभन्दा कम उमेरमा गरिने यौन सम्पर्कलाई बलात्कारका रुपमा लिने कानुनी प्रावधान छ । भारतका गाँउ गाँउमा बलात्कारका घटना निकै बढ्ने गरेको छ ।

भारतको सरकारी तथ्याङ्कमा सन् २०१५ मा मात्र करिब २० हजार बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए । बलात्कारजस्ता कार्यलाई निरुत्साहित गर्न भारतमा कडा कानुनी व्यवस्था गरिएको भए पनि यस्ता दुर्व्यबहारमा कमी आउन सकिरहेको छैन । -एएफपी

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments