काठमाडौं । आज नागपञ्चमी पर्व । घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै इनार,कुवा,धारा,कुण्ड तथा जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।

वराहपुराणका अनुसार नागराजले आफ्ना समस्याबारे ब्रह्मासँग संवादगरेपछि विषधर नागहरु शान्तभएको सम्झनामा यो पर्व मनाउने गरिन्छ । नागपञ्चमीका दिन घरघरमा नागको तस्वीर बनाई द्वारमाथि टाँसेर पूजा गरिन्छ । नागका अष्टकुल अनन्त वासुकि पद्म,महापदम,तक्षक,कुलीर,कर्कोटक शंख नागको चित्र ढोकामाथि टाँसेर दुईतिर कपासको पिउरी सजाई नाग पूजा गरिन्छ । घरमा नाग पूजा गर्दा दूधदही,अक्षता,दुवो,लावा फलफूल चढाई दूध वा खीरको नैवद्य लगाउने चलन छ ।

यसरी नागको पूजा गर्नाले घरमा चटयाङ् वज्रपात नपर्ने,अग्निभय र सर्पदंसको डर नहुने र शरीरमा रोगव्याधि नलाग्ने धार्मिक मान्यता छ । ब्रह्मवैवर्त पुराणका अनुसार भगवान श्रीकृष्णको पदचिह्न कालीय नागले शिरमा धारण गर्ने भएकाले नागलाई मार्न हुँदैन भन्ने विश्वास छ ।

नागपूजा गरेपछि नागपञ्चमीका दिन खेतबारीमा खनजोत गर्नुहुँदैन भन्ने गरिन्छ । खनजोत गरेमा जमिनमुनि बसेका नाग काटिनसक्ने र त्यसो भएमा पाप लाग्ने बताइन्छ । नागकोनेपाली समाजमा नागपञ्चमीदेखि हिउँदे प्रभाव देखिने र श्रीपञ्चमीदेखि वर्षे याम सुरु हुने लोककथन प्रचलित छ ।

नागपञ्चमीका अवसरमा आज देशका विभिन्न जलकुण्ड, पोखरीमा नागपूजा गर्नेको भीड लागेको छ । काठमाडौको नक्सालस्थित नागपोखरीमा नागपूजाको मेला लागेको छ ,काठमाडौकै चोभारस्थित कर्कोटक नागको निवास मानिने टौदहमा पनि नागपूजाको मेला लागेको छ । साथै ललितपुरको धापाखेलमा रहेको वासुकिनाग निवास मानिने नागदहमा पनि आज नागपूजा गर्ने भक्तहरुको भीड लागेको छ ।

उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन

आजै नागपूजापछि उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन गरिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । वि सं २०७४ साल श्रावाण २३ गते सोमबार श्रावण शुक्लपूर्णिमाका दिन अर्धरात्रि पूर्व खण्डग्रास चन्द्रग्रहण भएकाले यस दिन गरिने उपाकर्म,ऋषितर्पणी,रक्षाबन्धन १३ गते शुक्रबार श्रावण शुक्लपञ्चमी नागपञ्चमीका दिन गर्नु शास्त्र तथा परम्परा अनुसार समुचित भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको हो ।

व्रतबन्ध गरी जनै लगाउनेहरुले ऋषिहरुको सम्झना गरी बिहान सबेरै उठेर माटो,गोबर,कुश,अपामार्ग वा दत्तिवन लगाई स्नान गरी वैदिक मन्त्रद्वारा मन्त्रिएको जनै,यज्ञोपवित धारण गरिन्छ । जनैमा प्रयोग हुने तीन डोराले देवऋण,ऋषिऋण, पितृऋण तथा पञ्च शिखाले स्वाध्याय,अतिथिसत्कार,पितृतर्पण,भूतवलि र होम जस्ता पञ्च महायज्ञलाई जनाउँछ ।

यसपछि विधिपूर्वक मन्त्रिएको रक्षाबन्धन आफ्ना मान्यजन तथा पण्डितहरुबाट हातमा बाँधिन्छ । यसरी बाँधिएको रक्षाबन्धन गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिनाले मृत्युपछि वैतरणी तार्ने जनधारणा छ । यसै दिन तराईक्षेत्रमा आफ्ना दाजुभाइलाई दिदीबहिनीले राखी बाँधिदिने चलन छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments