काठमाडौं । भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसकारण उपत्यकाका उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य छन् ।

कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अलग–अलग अनुगमन र परीक्षण गरी तरकारीमा विषादीको मात्राका अध्ययन गरेका छन् ।

बेमौसमी तरकारीमा बढी

अनुगमनले बेमौसमी तरकारीमा बढी विषादी प्रयोग हुने गरेको देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत मदन चापागाईंले मौसमी तरकारीमा विषादी कम र बैमोसमी तरकारीमा बढी देखिएको जानकारी दिए । ‘बेमौसमी तरकारी फलाउन बढी मिहिनेत गर्नुपर्ने भएका कारण हुन सक्छ, यस्ता तरकारीमा बढी विषादी राख्ने गरेको देखिएको छ,’ उनले भने । उपभोक्ताले मौसमी तरकारीको उपभोग बढाए विषादीको जोखिम हुने उनको सुझाब छ ।

खुद्रामा भन्दा थोकमा बढी

तरकारीमा विषादीको मात्रा खुद्रामा आइपुग्दा कम र थोकमा रहँदा बढी रहेको देखिएको छ । बाली संरक्षण निर्देशनालयले कालिमाटी फलफूल तथा तरकारी बजारमा असार ०७१ मा अनुगमन गरी खुद्रामा ४१ प्रकारका तरकारी परीक्षण गर्दा ६ वटामा विषादीको मात्रा उच्च भेटिएको थियो । त्यस्तै, थोकमा एक सय ४६ तरकारीमा परीक्षण गर्दा २० वटामा विषादीको मात्रा उच्च भेटिएको थियो । थोकमा थप ६ वटा तरकारीमा विषादीको मात्रा खतराको क्षेत्रमा भेटिएको थियो । खतराको क्षेत्रमा देखिएका तरकारी दुई–तीन दिन राखेर खाँदा विषादी कम हुने वा हट्ने निर्देशनालयले जनाएको छ ।

भारतीय तरकारीमा बढी विषादी

विदेशबाट आउनेमध्ये भारतीय तरकारीमा सबैभन्दा धेरै विषादी देखिएको छ । आर्थिक वर्ष ०७१(७२ मा भारत, भुटान, चीन, थाइल्यान्ड, नेदरल्यान्डबाट आयात भएको तरकारीको परीक्षण गरिएको थियो । त्यसमध्ये भारतबाट आयात भएको एकवटा तरकारीमा विषादी भेटिएको थियो ।

आव ०७२/७३ मा भारत, चीन, भुटान, अष्ट्रेलिया र न्युजिल्यान्डबाट आयात भएको तरकारीको परीक्षण गरिएको थियो । भारतबाट आयातीत तीनवटा तरकारीमा विषादी भेटिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments