काठमाडौँ । सरकार गठन भएको डेढ महिनापछि प्रधामन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।

गत असार २२ गते सरकार गठन भएपछि सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा देखिएको किचलोका कारण लामो समय सरकार विस्तार हुन सकेको थिएन ।

बुधबार मन्त्री पदको सपथ लिन लागेका मन्त्रीहरुमा कांग्रेसबाट १० जनाले मन्त्रीको सपथ लिँदैछन् भने माओवादीका ६ जनाले केहीबेरमा सपथ लिँदैछन् ।

त्यसैगरी नेपाल लोकतान्त्रिक पार्टीबाट २ र नेकपा संयुक्तबाट १ जना थप गरी देउवाले मन्त्रिपरिषद विस्तार गर्नु भएको हो । विस्तारित मन्त्रिमण्डलमा कांग्रेसका मोहन बस्नेतलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी कांग्रेसकै भीमसेनदास प्रधानलाई रक्षा, वीरबहादुर बलायरलाई भौतिक पूर्वाधार तथा यातायात, यज्ञबहादुर थापालाई कानुन, रामकृष्ण यादवलाई कृषि, मीन विश्वकर्मालाई वाणिज्य, राजन केसीलाई युवा तथा खेलकुद, अम्विका बस्नेतलाई सहकारी तथा गरिबी निवारण, महेन्द्र यादवलाई खानेपानी तथा सरसफाई र सञ्जय गौतमलाई सिँचाई मन्त्री बनाइएको छ ।

त्यसै गरी नेकपा माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेललाई स्वास्थ्य, महेन्द्रबहादुर शाहीलाई ऊर्जा, टेकबहादुर बस्नेतलाई सामान्य प्रशासन मन्त्री, शिवकुमार मण्डललाई आपूर्ति, सन्तकुमार थारु चौधरीलाई पशुपंक्षी र आशा कोइरालालाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्त गरिएको छ ।

सत्ता साझेदार नेपाल लोकतान्त्रिक पार्टीबाट जितेन्द्र देवलाई संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री र गोपाल दहितलाई भूमि सुधार मन्त्री बनाइएको छ । नेकपा संयुक्तकी मिथिला चौधरी वातावरण मन्त्री बन्नु भएको छ । देउवा नेतृत्वको मन्त्रीपरिषदमा दुई जना महिलालाई समावेश गरिएको छ । यसैबिच, नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

नेपालको ४०औँ प्रधानमन्त्रीका रुपमा गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका देउवाले जेठ २४ गते आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएपछि बुधबार मन्त्रिमण्डल बिस्तार गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्री देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक जना गरी आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

कसलाई कुन् मन्त्रालय ?

गिरिराजमणि पोखरेल–स्वास्थ्य
जितेन्द्र देव-संस्कृति तथा पर्यटन
गोपाल दहित-भूमिसुधार
रामकृष्ण यादव-कृषि विकास
मोहन बस्नेत-सूचना तथा सञ्चार
महेन्द्र यादव-खानेपानी तथा सरसफाई
वीरबहादुर बलायर-भौतिक पूर्वाधार तथा यातायात
मीन विश्वकर्मा-वाणिज्य
अम्बिका बस्नेत-सहकारी तथा गरिबी निवारण
भीमसेनदास प्रधान-रक्षा
राजन केसी-युवा तथा खेलकुद
यज्ञबहादुर थापा-कानुन
सञ्जयकुमार गौतम-सिँचाई
टेकबहादुर बस्नेत-सामान्य प्रशासन
शिवकुमार मण्डल-आपूर्ति
महेन्द्रबहादुर शाही-ऊर्जा
आशा कोइराला-महिला तथा बालबालिका
वसन्तकुमार थारु-पशुपंक्षी विकास
मिथिला चौधरी-वातावरण

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments