काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी भित्रको ६०-४० को भागबण्डा अन्त्य हुनुपर्ने बताउनुभएको छ । सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी भएको उल्लेख गर्नुभयो ।

‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो, ग्रुपिज्म अन्त्य भएन भने पार्टी समाप्त हुन्छ, त्यसैले पार्टीभित्र अब सक्षम, इमानदार, त्यागी, सङ्घर्ष गरेका र क्षमतावान नेताहरूलाई स्थान दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘मन्त्रिमण्डल विस्तार गर्दा पनि त्यही अनुसार गर्नुपर्छ, फलानोको र ढिस्कानोको मान्छे भनेर मन्त्रिमण्डल र पार्टीका पदाधिकारी तथा केन्द्रीय कार्यसमितिमा नियुक्ति गर्नु उचित हुँदैन ।’

उहाँले पार्टीभित्र तत्कालीन पार्टी सभापति सुशील कोइरालाको पालामा पनि ६० र ४० को भागबण्डा हुँदा त्यसले पार्टीलाई राम्रो नगरेको स्मरण गर्नुभयो । ‘त्यतिबेला पनि मैले गुटबन्दी हुनुहुँदैन भनेकी थिएँ, त्यसले पार्टीलाई कमजोर बनाएको छ, अब पनि गुटबन्दी हुनु भनेको पार्टी ध्वस्त हुनु हो’, उहाँले भन्नुभयो, ‘गुटबन्दी भयो भने कसरी एउटा पार्टी हुन्छ ? यो त दुई वटा पार्टीजस्तै भैगयो नि?’

साक्षात्कारमा बोल्दै उहाँले पार्टीभित्रका राम्रा–राम्रा मान्छेहरू अहिले सुतेर बसेको समेत गुनासो पोख्नुभयो । ‘पार्टीका सक्षम र राम्रा साथीहरूलाई पन्छ्याइएको छ, उहाँहरू निराश भएर सुतेर बस्न बाध्य हुनुभएको छ, पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले योग्य र सक्षम नेताहरूलाई स्थान दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘कसैलाई काखा र कसैलाई पाखा गर्नुहुँदैन, सभापतिले अब कुनै एक व्यक्ति र कुनै एक समूहलाई मात्रै चित्त बुझाउने गरि मात्रै काम गर्नुहुँदैन, सबैलाई समेटेर अगाडि बढ्नुपर्छ।’

कोइरालाले पार्टीभित्र पन्छ्याइएका र सुतेर बसेका नेता कार्यकर्तालाई नेतृत्वले जगाउनुपर्ने धारणा राख्नुभयो । ‘लिडरले सबैलाई उत्साहित बनाउनुपर्छ, फेरि पहिलेको जस्तै गर्नुपर्छ, अब कुनै पनि ग्रुपिज्म हुँदैन भन्ने फिलिङ्स दिन सक्नुपर्छ।’ उहाँले अहिले देखिएको गुटबन्दी चरम विन्दुमा पुगेको भन्दै उक्त गुटबन्दी अन्त्य गर्नको लागि आफूले पहल गर्ने समेत स्पष्ट पार्नुभयो ।

नेतृ कोइरालाले निर्वाचनको लागि टिकट वितरण गर्दा सही ढङ्गले गर्नुपर्ने बताउनुभयो । ‘जनतामा पपुलर र ग्रासरुटमा भिजेका नेता तथा कार्यकर्ताहरूलाई टिकट दिनुपर्छ’, उहाँले भन्नुभयो । पार्टीभित्र सबैलाई मिलाएर लैजानको लागि पार्टी नेतृत्वले धेरै मेहनत गर्नुपर्ने उहाँको धारणा थियो ।

‘कांग्रेसको कमजोरी भनेको नै युनिटी नहुनु हो, जिल्ला-जिल्लामा अहिले कांग्रेस विभाजित बनेको छ, माथिको विभाजन तलसम्म पुगेको छ’, उहाँले अगाडि भन्नुभयो । माथिदेखि तलसम्म पार्टीमा एकता नहुँदा हालै सम्पन्न भएका स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा हार व्यहोर्नुपरेको उहाँको दाबी थियो । पार्टीलाई सुदृढ एवम् बलियो बनाउहाँको लागि पार्टी सभापति देउवाले धेरै मेहनत गर्नुपर्ने उहाँको जोड थियो ।

त्यस्तै उहाँले संविधानले उल्लेख गरे बमोजिम महिलाहरूलाई हरेक निकायमा सम्मानजनक उपस्थिति गराउनुपर्ने बताउनुभयो । ‘जेण्डर ब्यालेन्स मिला उहाँको लागि पनि महिलाहरूलाई हरेक निकायमा संविधानले उल्लेख गरेबमोजिम उपस्थिति गराउनुपर्छ, उहाँले अघि थप्नुभयो, ‘संसद्मा पनि महिलालाई ३३ प्रतिशत अनिवार्य उपस्थिति गराउनुपर्नेछ, पार्टीमा पनि दिनुपर्छ, महिला उपप्रधानमन्त्री किन नहुने ?’

कांग्रेसले पार्टीभित्र महिलाहरूलाई स्थान नदिए ठुलो दशा भोग्नुपर्ने समेत उहाँले चेतावनी दिइन् । उहाँले भन्नुभयो,‘पार्टीभित्र महिलाहरूलाई पनि स्थान दिनुपर्छ, उचित स्थान नदिए उत्साह मर्छ, सक्षम महिलाहरू धेरै छन्।’ त्यस्तै उहाँले पार्टीभित्र महिलालाई पनि उपसभापति दिनुपर्ने बताउँदै त्यसको लागि आफू योग्य रहेको जिकिर गर्नुभयो ।

तपाईँ पनि उपप्रधानमन्त्री बन्न चाहानुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो,‘म पनि नेता हुँ, मेरो पनि पार्टीमा योगदान छ, म पनि उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री भइसकेको मान्छे हुँ, मलाई माइनस गरिएको छ, ७५ जिल्लामै मेरो पनि नेटवर्किङ् छ । सही मान्छेलाई पन्छाएर पार्टी चल्दैन, अहिले सबैलाई सुताईएको छ’, उहाँ भन्नुभयो ।

उहाँले पार्टीभित्र घाँटी रेटिरहने, दुःख दिइरहने, क्षमता प्रयोग गर्न नदिने, सताउने र दबाउने दिन गएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब ती दिन गए, दबाउने जमाना गए।’ कोइरालाले पार्टी नेतृत्वले एकपछि अर्को गलत निर्णय गरेको कारण पार्टीले निर्वाचनमा नराम्रो नतिजा भोग्नुपरेको समेत गुनासो पोख्नुभयो। उहाँले भन्नुभयो,‘अहिले धेरै नेताहरूको गुनासो छ, गिरिजाबाबुलाई त सम्मान दिन नसक्ने भनेर अहिले कांग्रेसको आलोचना हनु थालेको छ, यसबारेमा सर्तक हुनुपर्छ।’

फरक प्रसंगमा उहाँले संविधान संशोधन प्रस्तावलाई तत्काल थाती राख्नुपर्ने समेत स्पष्ट पारिन् । कोइरालो भन्नुभयो, ‘पारित नहुने संशोधन प्रस्तावको पछि लाग्नुहुँदैन, अहिलेलाई प्रस्ताव थाँती राखेर चुनावमा केन्द्रित हुनुपर्छ, अब सबै चुनावको तयारीमा जुट्नुपर्छ।’ उहाँले उक्त संशोधन प्रस्तावलाई भोटिङ्मा लैजानु मुर्खता हुने समेत प्रस्ट पार्नुभयो ।

‘यो प्रस्ताव मधेसी जनताले चाहेको प्रस्ताव हुँदै होइन, यो त राजपाले चाहेको हो, त्यसैले अब चुनाव लक्षित भएर जानुपर्छ’, कोइरालाले भन्नुभयो, ‘समयमै चुनाव गर्नुपर्छ, संविधानले नै माघ ७ गतेभित्रै सबै चुनाव गर्नुपर्ने भनेर किटान गरेको छ, त्यसैले समयमै सबै निर्वाचन गर्नुपर्छ।’

उहाँले संसद्को म्याद थप्नेबारे आफूले पनि हल्ला सुनेको उल्लेख गर्दै यसको पछि लागे कांग्रेसले प्रदेश नम्बर २ को निर्वाचनमा पनि हार व्यहोर्ने ठोकुवा गर्नुभयो । ‘यस्तो गल्ती कांग्रेसले नगरोस्, अब माघ ७ गतेभित्रै चुनाव गराउनुपर्छ, यसबाट एक इन्च पनि पछाडि हट्नुहुँदैन’, उहाँले भन्नुभयो ।

हालै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा फेरि मुलुकलाई अस्थिरतातर्फ धकेल्ने बकवाश कुरा भएको उहाँको आरोप थियो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीय पद्धति नै उचित छ, तल्लो सदनमा समानुपातिक हुनुहुँदैनथ्यो, माओवादीले जिद्दी गरेर राखिएको हो, त्यसैले अहिले आएर अन्टसन्ट कुरा गर्नुहुँदैन।’

हालै कोइराला परिवारका नेताहरू क्रमशः महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला र आफूवीचको भेटघाट पार्टीलाई कसरी मजबुद बनाउने र एकतावद्ध गर्ने भन्नेमा मात्रै केन्द्रित रहेको समेत उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘हामीलाई पार्टीबारे चिन्ता छ, कसरी पार्टीलाई एकतावद्ध बनाउन सकिन्छ भन्ने नै हाम्रो मूल चिन्ता हो, पार्टी एकता नै हाम्रो जोड हो।’

उहाँले आफूहरुको लञ्च डिनर नियमित भइरहेकोले यसलाई आश्चर्यको विषय नमान्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘हामी तीनजना नेताले सँगै लञ्च गरेको कुरालाई ठुलो ईस्यु बनाउनुहुँदैन।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments