मेलबर्न। अष्ट्रेलियामा आफन्त वा साथीभाई नहुने नेपालबाट आउने नयाँ विद्यार्थीहरु यहाँको एयरपोर्टमा आईपुगेपछि अलमलमा पर्छन्। विद्यार्थीहरुको यो समस्यालाई बुझेका नेपाली युवाहरु अहिले ‘नि:शुल्क पिक अप सेवा’ मार्फत उनीहरुको सहयोगमा लागिरहेका छन् । उनीहरुले अष्ट्रेलियाको मेलबर्नमा आउने नयाँ विद्यार्थीहरुलाई एयरपोर्टबाट पिक अप गर्ने र आवश्यक सुझाव सल्लाह दिने गर्छन् ।

विगत डेढ महिना देखि नेपालबाट अष्ट्रेलिया आउने विद्यार्थीहरुलाई एयरपोर्टमै पिक अप गर्न जाने यी युवाहरुले यो अवधिमा ५५ जनालाई सेवा दिसकेका छन् । फ्री एयरपोर्ट पिक अप सेवा पाएकी योजना कार्कीले यो सहयोगले आफूलाई निकै खुशी र आत्मियता प्रदान गरेको भन्दै टिमप्रति कृतज्ञता व्यक्त गरिन् । त्यस्तै सेवा पाएका पवन लामिछानेले नौलो ठाउँमा आफूलाई एयरपोर्टबाट कोठासम्म छोडीदिएर दिएको सहजता र आत्मियता प्रति टिमलाई धन्यवाद दिए । सेवा पाएका सबै विद्यार्थीहरु यो टिमप्रति आभार प्रकट गर्ने गर्छन् ।

नेपाली युवा सरोज खनाल अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी हुन् । अध्ययनशील तथा लगनशील यी युवाले साथी विष्णु सापकोटा संग मिलेर नेपाली नयाँ विद्यार्थीहरुलाई फ्री पिक अप मार्फत सहयोग गर्ने कामको थालनी गरेका हुन् । यो काममा अरु सहयोगी मन भएका युवाहरु थपिएर हाल ६ जनाको एउटा टिम नै बनिसकेको छ । टिममा हाल सरोज खनाल, विष्णु सापकोटा, दीपक श्रेष्ठ, सुदिप खनाल, हेमन्त लामिछाने र श्रीजेश स्थापित रहेका छन् ।

सरोज भन्छन् , ” कोही पनि नेपाली विद्यार्थी अष्ट्रेलिया आएर नयाँ वातावरणमा हतास नहोस् तथा बिचल्लीमा नपरोस् भन्ने उद्देश्यले हामीले यो कार्यको सुरुवात गरेको हौँ । हामी आफू पनि विद्यार्थी भएकोले उनीहरुको समस्यालाई राम्रोसंग बुझ्न सक्छौं । आफ्नो देशको आफू जस्तै युवाहरुलाई सहयोग गर्न पाउनु हाम्रो लागी खुशीको कुरा हो । ”

अष्ट्रेलियाको आफ्नो व्यस्त दैनिकीका बावजुद नि:शुल्क पिक अप सेवा दिने यी युवाहरुले यो कार्यले आफूहरुलाई आत्मसन्तुष्टि मिल्ने बताउँछन् ।

टिम मार्फत सेवा लिन चाहने, उनीहरुलाई प्रतिक्रिया दिन चाहने वा उनीहरुले दिने सेवा बारे बुझ्न चाहने जोकोहीले सरोज खनालको फेसबुक प्रोफाइल मा गएर गर्न सक्छन्। नयाँ आउने विद्यार्थीहरुले उनीहरुलाई फेसबुक साथै ०४२६९५४७०४ र ०४३१५७८३५२ भाइबर नम्बरमा सम्पर्क गर्न सक्छन्।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments