काठमाडौं । सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राजपालगायतका दलहरुसँग छलफल गर्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छलफलको मुख्य एजेण्डा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ ।

दलहरुबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । जेठ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा काँग्रेसबाट चार, माओवादी केन्द्रबाट तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक गरी आठ सदस्य मन्त्रिपरिषद् गठन भए पनि भागबण्डा नमिल्दा पूर्णता पाउन नसकेको हो । मन्त्रालय भागबण्डा मिलाउन मंगलबार बेलुका पनि कांग्रेस र माओवादी केन्द्रबीच छलफल भएको थियो ।

दुई दलबीचको छलफलमा मन्त्रालय भागबण्डामा मोटामोटी टुंगो लगाए पनि अन्य दलसँग सहमतिपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । त्यसैका लागि अहिले बालुवाटारमा सत्तारुढ दलहरुको बैठक बसिरहेको छ ।  नेपाली काँग्रेसले अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, सिंचाइ, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, खानेपानी, रक्षा, सामान्य प्रशासन, श्रम तथा युवा स्वरोजगार, वाणिज्य र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले पाउने सत्ता साझेदार प्रमुख दुई दलबीच समझदारी भएको छ ।

माओवादी केन्द्रले हाल सम्हालेका परराष्ट्र, गृह, शहरी विकाससहित ऊर्जा, स्वास्थ्य, कृषि विकास, आपूर्ति, न्याय तथा कानुन र पशुपंक्षी विकास मन्त्रालयको नेतृत्व पाउने छन् । यस्तै, विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई स्थानीय विकास तथा संघीय मामिला, पर्यटन र भूमिसुधार तथा राप्रपा लगायत साना दललाई शान्ति, उद्योग, वन र विज्ञान तथा प्रविधि, वातावरण मन्त्रालय छुट्टाइए पनि अन्य दलहरुसँग सहमति जुट्न बाँकी छ ।

मंगलबार भएको कार्यदलको सहमतिअनुसार नेपाली कांग्रेसलाई १३, माओवादी केन्द्रलाई ९, फोरम लोकतान्त्रिकलाई ३ र नेकपा संयुक्तलाई एक मन्त्रालयको भागबण्डा गरिएको छ । कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन सम्मिलित हुनुहुन्थ्यो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments