काठमाडौँ । दोलखास्थित नेकपा एमालेका नेताहरूले महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले ‘जूँगू घटना’ का दोषीलाई संरक्षण दिइरहेको आरोप लगाएका छन् ।

दोलखाका सांसदहरुले ‘जूँगू हत्याकाण्ड’ का दोषीमाथि कारबाही गर्न उच्च अदालत पाटनमा दर्ता गर्न लगिएको मुद्दाको फाइल नै वेपत्ता बनाएर महान्यायाधिवक्ता श्रेष्ठले दोषीलाई संरक्षण दिइरहेको आरोप लगाएका हुन ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दोलखाका सांसदत्रय पशुपति चौंलागाई, पार्वत गुरुङ र आनन्दप्रसाद पोखरेलले जिल्ला अदालतले न्याय नदिएपछि न्यायको खोजीमा आएका पीडितमाथि झनै अन्याय गर्ने काम महान्यायाधिवक्ता श्रेष्ठबाटै भएको भन्दै आपत्ति पनि जनाएका छन् ।

मुद्दाको फाइल नै गायव गराएर महान्यायाधीवक्ता श्रेष्ठले न्यायिक बाटो अवरुद्ध पारेको, न्याय मार्ने गम्भीर षडयन्त्र गरेको आरोप समेत लगाएका छन् । हत्याजस्तो गम्भीर फौजदारी मुद्दामा सरकारी वकिल स्वयम्ले अग्रसरता लिनुपर्नेमा आफ्नो आस्थानिकट रहेका अभियुक्त भएकै कारणले पीडितलाई न्याय दिनबाट वञ्चित गराउने काम महान्यायाधीवक्ताबाटै भइरहेको दाबी पनि सांसदहरुले गरेका छन् ।

सांसद पशुपति चौंलागाईले न्याय निरुपण गर्ने सरकारका प्रवक्ता आफैले न्याय मार्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो । अर्का सांसद पार्वत गुरुङले पीडितलाई न्याय दिन खोज्दा महान्यायाधिवक्ता श्रेष्ठको ठाडो निर्देशनमा दोलखामा डिएसपी र सरकारी वकिलनै सरुवा गरिएको पनि स्मरण गराउनु भयो ।

उहाँले घटनाका अभियुक्तहरुलाई संरक्षण दिने काम महान्यायाधिवक्ता आफैले गरेपछि त्यसको विरोधमा बोल्नु आफूहरुको दायित्व भएको पनि स्पष्ट पार्नु भयो । सांसद आनन्दप्रसाद पोखरेलले सरकारी तहबाटै न्याय निरुपण हुन नदिने गम्भीर षडयन्त्र भइरहेको आरोप लगाउनु भयो ।

माओवादी केन्द्रले स्थानीय चुनावको प्रचार अभियानमा जुटिरहेका बेला दोलखा जूँगूका कुलबहादुर तामाङलाई गत वैशाख २६ गते राति धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । त्यसपछि पीडित पक्षले न्याय पाउन जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

तर, जिल्ला अदालतले पक्राउ परेका ३९ जना अभियुक्तहरुलाई पनि सामान्य तारेखमा रिहा गरेपछि पीडित पक्षले न्यायको खोजी गर्दै न्यायपरिषदमा उक्त विषय छानबिन गर्न निवेदन समेत दिएका छन् । पीडितलाई न्याय नदिन राज्य पक्ष आफै अग्रसर भएको दोलखाका सांसदहरुको दाबी छ । उनीहरूले पीडितलाई न्याय दिन राज्य पक्ष गम्भीर नभए त्यसको परिणाम भोग्न तयार हुनुपर्ने चेतावनी पनि दिएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments