काठमाडौँ । केही महिनाअघि मात्रै एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा फेरि रडाको मच्चिएको छ । अध्यक्ष कमल थापाले मनोमानी गरेको भन्दै वरिष्ठ नेता पशुपति शमशेर जबराले पार्टी फुटाउने धम्की समेत दिनुभएको छ ।

अध्यक्ष थापाले पार्टीमा कुनै सल्लाहबिना ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै वरिष्ठ नेता राणाले शुक्रबार विज्ञप्ती नै निकालेर यस्तो धम्की दिनुभएको हो ।

वरिष्ठ नेता राणाको यो धम्कीसँगै राप्रपा फेरि विभाजनको अवस्थामा पुगेको छ।  ‘अध्यक्षले पार्टीलाई आफ्नो विर्ता बनाउन खोजेको पाइयो’, राणाले भन्नुभएको छ, ‘साउन ४ गते केन्द्रीय समिति बैठक बस्न लागेको अवस्थामा भएको एकपक्षीय निर्णय नसच्याए पार्टीमा विद्रोह र विग्रहको अवस्था निम्तन्छ ।’

थापाले केन्द्रीय सदस्यहरुलाई सुइँको नदिई ४२ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेको भन्दै राणाले त्यो निर्णय तत्काल फिर्ता लिई राप्रपालाई बिग्रहबाट बचाउन भन्नुभएको छ ।

‘पार्टी अध्यक्षले केन्द्रीय समितिमा ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेको समाचार सञ्चारमाध्यमबाट थाहा पाएपछि गम्भीररुपमा मेरो ध्यानाकर्षण भएको छ’, शुक्रबार जारी विज्ञप्तिमा राणाले भन्नुभएको छ, ‘अध्यक्ष एक्लैले एकांकी रुपमा मधेस, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र एवं समुदाय, दुर्गम क्षेत्र र दलितको समानुपातिक तथा समावेशी प्रतिनिधित्वको ख्याल नराखी गरिएको मनोनयनप्रति मेरो पूर्ण असहमति छ ।’

एकपक्षीय निर्णय तत्काल फिर्ता लिन राणाले चेतावनी दिनुभएको छ । ‘म यस्तो कार्य र प्रवृत्तिको घोर निन्दा र भत्सर्ना गर्दछु । म राप्रपा अध्यक्षमा यो सचेत गराउँछु कि एकांगीरुपमा गरिएको निर्णय फिर्ता लिएर पार्टीलाई विग्रह तथा प्रत्युत्पादक आन्तरिक द्वन्द्वमा फस्नबाट बचाइयोस्’, राणाले भन्नु भएको छ ।

अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समतिलाई पूर्ण बेवास्ता गरेर राप्रपालाई आफ्नो बिर्ता बनाउन खोजेको आरोप पनि राणाले लगाउनुभएको छ । ‘केन्द्रीय तहका नेतागणलाई सुइँकोसम्म नदिई केन्द्रीय कार्य सम्पादन समितिको अस्तित्व र उपस्थितिलाई पूर्णरुपमा नकारेको मात्र नभई राप्रपालाई अध्यक्षको एकल बिर्तामा रुपान्तरण गरिएको सन्देश प्रवाहित गराइएको छ’, उहाँले भन्नुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments