काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले सदनमा विचाराधीन संशोधन प्रस्तावलाई कुनै पनि हालतमा पारित हुन नदिने ठोकुवा गर्नुभएको छ। ‘संशोधन प्रस्तावको पक्षमा कुनै पनि हालतमा दुईतिहाइ पुग्दैन’, उहाँले भन्नुभयो, ‘यदि पुग्ने अवस्था आयो भने हामी जेपनि गर्न बाध्य हुनेछौं ।’

आचार्यले अहिलेको संशोधन प्रस्ताव मधेस र मधेसी जनताको हितमा नभएको समेत जिकिर गर्नुभयो । ‘यो प्रस्ताव मधेसी जनताको पक्षमा छैन, यो सत्तामा पुग्नको लागि गरिएको सम्झौता अनुसार अघि बढाइएको हो’, आचार्यले भन्नुभयो, ‘यसले न मधेसीको, न जनजातिको न मुस्लिम, न आदिवासी कसैको पनि हित गर्दैन ।’

उहाँले निर्वाचनअघि संशोधन प्रस्ताव नबढाउन प्रमुख तीन ठुला दलहरू कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच भएको सहमति कुल्चिएर सत्तारुढ दलले प्रस्ताव अघि बढाउन खोजेको भन्दै यसमा आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको समेत बताउनुभयो । ‘यो प्रस्तावमा मधेसी जनताको एउटा पनि एजेण्डा छैन, त्यसैले एमाले पास गराउनको लागि बाध्य हुनेछैन’, उहाँले भन्नुभयो ।

आचार्यले संशोधन प्रस्तावप्रति आफ्नो पार्टीको कुनै लिनुदिनु नभएको समेत स्पष्ट पार्नुभयो । यद्यपि उहाँले राष्ट्र र जनताले आवश्यक ठाने त्यही बेला संशोधन हुने सक्ने बताउनुभयो । उहाँले अहिले सत्तापक्षले संशोधन गर्नुपर्छ भनेर बखेडामात्रै नझिकेर निर्वाचनको लागि तुरुप प्रयोग गरिरहेको समेत आरोप लगाउनुभयो ।

उहाँले अहिले मधेसमा बाढीबाट जनताहरू पीडित बनेको अवस्थामा मधेशवादी दलहरूले जनताको पक्षमा एक शब्द पनि नबोलेको गुनासो पोख्नुभयो । ‘तराईका जनता अहिले मर्नु कि बाँच्नु अवस्थामा छन्, तर कसैले पनि यो एजेण्डामा बोलेका छैनन्’, उहाँले भन्नुभयो ।

दुईतिहाइ पुग्ने अवस्था आए तपाईहरु प्रस्तावलाई निर्णयार्थ पेस गर्न दिनुहुन्छ वा सदन अवरुद्ध गर्नुहुन्छ भन्ने प्रश्नमा आचार्यले संशोधन प्रस्ताव पारित हुने अवस्था नरहेको बताउनुभयो । ‘यदि त्यस्तो अवस्था सिर्जना भए आफूहरू त्यही अनुसारको कदम चाल्न बाध्य हुन्छौँ’, उहाँले भन्नुभयो,  ‘हामी सदन अवरुद्ध गर्न पनि सक्छौँ, त्यो परिस्थिति हेरेर हुन्छ, यदि दुईतिहाइ पुग्ने अवस्था आयो भने सदन अवरुद्ध गरेर प्रस्ताव पारित हुन दिँदैनौं ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments