काठमाडौं । सरकारका मूख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंकको जागिर खान बुधवार फिलिपिन्स जाँदैहुनुहुन्छ । उहाँले मनिलास्थित एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुहुनेछ । यसकालागि मूख्य सचिव सुवेदीले मंगलवारनै सिंहदरबार छोड्नुभएको थियो ।

गत २०७२ साल साउन २० गते मुख्यसचिव हुनुभएका सुवेदीको कार्यकाल २०७५ सालसम्म छ । तर, उहाँ काज मिलाएर एडीबीको उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न फिलिपिन्सको मनिला जान लाग्नुभएको हो ।

यसैबीच सरकारले नयाँ मुख्यसचिव नियुक्ति टुंगो लगाउन नसकेपछि प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाल्नुभएको छ ।

मुख्यसचिव बुधबार जाने निश्चित हुँदाहुँदै पनि सरकारले कसलाई मुख्यसचिव बनाउने भन्ने टुंग्याउन सकेन। प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव रामकुमार आचार्य देशबाहिर रहेकाले अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो । स्वदेश फर्केपछि आचार्यले अर्का मुख्यसचिव नियुक्त नहुन्जेल निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

२०७५ साउनसम्म मुख्यसचिवको कार्यकाल बाँकी रहेकाले अतिरिक्त समूहमा मुख्य सचिवको विशेष पद सिर्जना गरी उनलाई राखिनेछ भने सरकारले उहाँको ठाउँमा नयाँ मुख्यसचिव नियुक्त गर्नेछ ।

अब मुख्यसचिवको प्रतिस्पर्धीमा सचिव धनबहादुर तामाङ,राजेन्द्रकिशोर क्षेत्री, नारायणगोपाल मलेगो, शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ, ङइन्द्रप्रसाद उपाध्याय, लोकदर्शन रेग्मी र शंकर अधिकारी छन् ।

Comments

comments