काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि साउन १ देखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगबाट गत वैशाख ३ गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले स्थायी बसोबास भएको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउने सकिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र आफूसाथ लैजानुपर्नेछ ।  हालको मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न तथा मतदाता नामावलीबाट नाम हटाउन उक्त अवधि अर्थात् साउन १ देखि १५ गतेसम्ममा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्थासमेत गरिएको आयोगले जनाएको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउन नपर्ने जनाउँदै आयोगले नाम दर्ता भइसकेपछि साउन १६ देखि २० गतेसम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ । आयोगले मतदाता नामावलीमा समयसापेक्ष सुधार गर्दै जाने क्रममा तस्बिरसहितको मतदाता नामावली तयार गर्दै आएको छ ।

पछिल्लोपटक आयोगले गत फागुन ९ गते अगाडि १८ वर्ष उमेर पूरा भएका मतदाताको नाम अन्तिम मतदाता नामावलीमा कायम गरेको थियो ।  सोही मतदाता नामावलीका आधारमा आयोगले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन गरेको हो ।  हाल एक करोड ४२ लाख ५४८ नेपाली नागरिकको नाम मतदाता नामावलीमा दर्ता गरिएको छ ।

यसअघि जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट निरन्तर दर्ता, घुम्ती दर्ता, विशेष दर्तालगायत कार्यक्रमबाट मतदाता नामावली सङ्कलन गरिँदै आएको थियो ।  स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै फागुन ९ गतेदेखि यो कार्य स्थगन भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments