काठमाडौं । मनसुन सुरु भएयता आइतबार सबैभन्दा बढी वर्षा भएको छ । एकै स्थानमा ३ सयभन्दा बढी वर्षा भएकाले पहिरो जान सक्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि मनसुन सक्रिय हुने भएकाले बाढीपहिरोको सम्भावना रहेको जनाएको छ ।

‘आइतबार मनसुन सक्रिय हुँदा मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षा भएको छ,’ महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले राजधानीसँग भनिन्, ‘मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेका कारणले मनसुन सक्रिय भई देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना छ ।’

उनका अनुसार सोमबार वर्षाको गतिविधि सक्रिय नै रहने भएकाले पूर्व तथा मध्यका एक दुई स्थानमा भारी वर्षा हुनेछ । महाशाखाका अनुसार १ सय ४० मिलिमिटरभन्दा बढी वर्षा भए त्यस क्षेत्रमा बाढीपहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउनुपर्दछ । मौसमविद् कँडेलले भारी वर्षा भएका क्षेत्रमा पहिरोको जोखिम भएकाले सुरक्षित रहन आग्रह गरिन् ।

यसैगरी जल तथा मौसम विज्ञान विभागको बाढीपहिरो पूर्वानुमान शाखाले भारी वर्षा भएका क्षेत्रमा सोमबार पनि वर्षा हुने भन्दै पहिरोको सम्भावना भएको जनाएको छ । शाखाका अनुसार मुलुकका कन्काई, कमला, बाग्मती, पूर्व राप्ती, तिनाउ, पश्चिम राप्ती र बबई नदी जलाधार र पूर्वमा झापादेखि पश्चिममा करिब बाँकेसम्मका चुरेबाट बहने खोला र नदी प्रणालीमा जुनकुनै बेला बहावले चेतावनी तह पार गर्न सक्नेछ । गत २९ जेठमा नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन सुरुमा कमजोर थियो तर केही दिनयता मनसुनी वायु सक्रिय हुँदा भारी वर्षा भएको छ । शाखाका पहिरोविद् विनोद पराजुलीका अनुसार आइतबार भारी वर्षा भएकाले त्यस क्षेत्रमा पहिरोको जोखिम भएको भन्दै सचेत र सुरक्षित हुन आग्रह गरेका छन् ।

नदीमा पानीको सतह बढ्ने भएकाले तल्लो तटीय क्षेत्रमा पनि नदी कटानका साथै बाढी पस्ने भएकाले नदीआसपासको बासिन्दालाई सुरक्षित हुने आग्रह गरिएको छ । ‘त्यो क्रम सोमबारसम्मै निरन्तर रहन सक्ने देखिएकाले सम्बन्धित सबै तराईका जिल्लाका आमसर्वसाधारण तथा सरोकारवालाहरू सबैमा पूर्वतयारीका चरणहरूतर्फ सचेत रही क्रियाशील हुन आग्रह गर्दछु,’ बाढीपहिरोविद् पराजुलीले भने, ‘देशका पहाडी भूभागबाट बहने ठूला नदीहरूमा बाढीको जोखिम मध्यम छ तर लगातारको वर्षाले भिरालो र कमजोर जमिनमा पहिरोको जोखिम उच्च हुन सक्छ ।’

आइतबार दिनभरमा सबैभन्दा बढी लुम्लेमा ३ सय ८ दशमलव ३ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पोखरामा १ सय ४५ दशमलव ५ मिलिमिटर वर्षा भयो भने धनगढीमा ७२ दशमलव ३, भैरहवामा ४२ दशमलव ८, ओखलढुंगामा ४० दशमलव ९ र दाङमा ३७ मिलिमिटर वर्षा भएको थियो । यस्तै जिरीमा ३६ दशमलव २, ताप्लेजुङमा ३४ दशमलव ७, काठमाडौंमा १६ दशमलव ७ र नेपालगन्जमा १४ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । सिमरामा ६ दशमलव २, वीरेन्द्रनगरमा ५, जोमसोममा ४ दशमलव ६, विराटनगरमा १ दशमलव २ मिलिमिटर वर्षा भइको महाशाखाले जनाएको छ ।

पोखराको पन्चासेमा रहेको मापन केन्द्रले चेतावनीको संकेतभन्दा माथि वर्षा भएको जनाएको छ । शनिबार बेलुका ६ बजेदेखि आइतबार बेलुकासम्मको २४ घण्टाको अवधिमा १ सय ६० दशमलव ८ मिलिमिटर वर्षा भएको जनाएको छ । २४ घण्टाको अवधिमा १ सय ४० मिलिमिटरमाथि वर्षा भए त्यस क्षेत्रमा पहिरोको जोखिम हुने र नदीमा समेत बाढीको सम्भावना हुने भएकाले त्यसतर्फ सचेत हुनपर्छ । पन्चासे क्षेत्रमा परेको पानी फेवा तालको पानीको सतह बढ्ने र त्यस क्षेत्रमा पहिरो जाने भएकाले जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान शाखाले सचेत रहने आग्रह गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments