मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको निर्वाचन सम्पन्न भएको छ । एनआरएनए अष्ट्रेलियाको आगामी दुई वर्षको लागि नेतृत्व छनोटको शनिवार निर्वाचन भएको हो । बिहानदेखि सुरु भएको निर्वाचन साँझ ५ बजे सम्पन्न भयो ।

अष्ट्रेलियाका ६ राज्य र दुई टेरेटोरीमा निर्वाचन सम्पन्न भएको हो । यसपाली मतदाता संख्या ८ हजार २ सय ४० मतदाता रहेको छ । निर्वाचनमा मतदानको लागि विद्युतीय प्रविधि प्रयोग गरिएको छ । मतदातालाई आइडी र पिन दिईएको थियो । उक्त युजर आइडी र पिनलाई मतदाताले कम्प्युटर स्क्रिनमा इन्टर गरेपछि मात्र भोट गर्न पाउने व्यवस्था मिलाइएको थियो । मतदाताले भोटको लागि आफूलाई आवश्यक समय खर्चिन पाउँनुको साथै आवश्यक परे त्यहाँ उपलब्ध निर्वाचन समितिका सदस्यको सहयोग समेत लिन सकिने व्यवस्था मिलाइएको थियो ।

आगामी कार्यकालको नेतृत्वको लागि अध्यक्ष पदमा अभिमानसिंह बस्नेत, टोनु घोताने, स्वतन्त्रप्रताप शाह र डा महेश भण्डारी चुनावी मैदानमा हुनुहुन्छ । टोनु घोताने र डा महेश भण्डारी भिक्टोरियावासी तथा अभिमानसिंह बस्नेत र स्वतन्त्र प्रताप शाह क्विन्सल्याण्डवासी हुनुहुन्छ ।

निर्वाचन समितिका आयुक्त सुनिल भण्डारीका अनुसार जुलाई ८ अर्थात शनिवार राति नै मतपरिणाम सार्वजनिक गरिनेछ । निर्वाचन समितिले राती ११ बजे सम्ममा मत गनेर सकिने अनुमान गरेको छ भने प्राविधिक कामको लागि ३० मिनेट छुट्टाईएको छ । यसरी मतपरिणाम आज राति ११ः ३० बजे सम्ममा सार्वजनिक गरिसक्ने योजना रहेको आयुक्त भण्डारीले बताउनुभयो ।

Comments

comments