काठमाडौँ । तेस्रो चरणको स्थानीय निर्वाचनका लागि राष्ट्रिय जनता पार्टीले संविधान संशोधनलाई बटम लाइन बनाएपछि सत्तारुढ दलहरु अफ्ठेरोमा परेका छन् ।

असोज २ गते हुने भनिएको तेस्रो चरणको स्थानीय निर्वाचनका लागि राजपाले हिजो बसेको प्रमुख दलको बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे पुरानै अडान कायम राखेको थियो ।

राजपाको अडानपछि अफ्ठेरोमा परेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले शनिबार बिहानै संशोधनमा दुईतिहाइ बहुमतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाउने कोशिश गरे ।

प्रम देउवाको आह्वानमा कांग्रेस, माओवादी केन्द्र र राप्रपा शीर्ष नेताको बैठक बिनाकुनै निचोड सकिएको छ । दाहालका प्रेस संयोजक मनहरि तिमल्सिनाले बैठकमा राप्रपा अध्यक्ष कमल थापाले आफूहरु संविधान संशोधनका लागि सकारात्मक रहेको जवाफ दिनुभएको बताउनुभयो ।

‘हामी संविधान संशोधनका लागि सकारात्मक छौँ । तर, पार्टीमा छलफल नगरी हामी निर्णय दिन सक्दैनौँ’, अध्यक्ष थापाको भनाई उधृत गर्दै तिमल्सिनाले भन्नुभयो, ‘हिजो सत्ताबाट बाहिरिँदा पनि हामीले संशोधनमा सघाउँछौँ भनेका थियौँ, तर हामीले छलफल नगरी अहिले निचोड दिन सक्दैनौँ ।’

तिमल्सिनाका अनुसार तीन दलीय छलफलमा कांग्रेस र माओवादी नेताहरुले संविधान संशोधनमा राप्रपाको धारणाबारे चासो राख्नुभएको थियो । राप्रपाका नेताहरुले संविधान संशोधन प्रस्तावमा आफूहरु सकारात्मक रहेको जानकारी दिनुभएको थियो ।

बैठकमा संविधान संशोधन प्रस्तावलाई अघि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नेबारे  पनि नेताहरुबीच छलफल भएको छ । शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठकमा संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्ने समझदारी भएपछि आजको बैठक बसेको हो।

बैठकपछि बाहिरिँदै राप्रपाका अध्यक्ष थापाले प्रधानमन्त्रीले संशोधनमा साथ दिएर आग्रह गर्नुभएको बताउनुभयो । ‘प्रधानमन्त्रीले संशोधनमा सघाएर जान प्रस्ताव गर्नुभयो । तर हामीले अहिल्यै निचोडमा पुगेका छैनौँ’, बैठकपछि पत्रकारहरुसँग अध्यक्ष थापाले भन्नुभयो, ‘संविधान संशोधनमा साथ दिने र सरकारमा जानेबारेमा हामीले केही सोचेका छैनौँ ।’

मधेसी दलको माग पुरा गर्न नसकेको भन्दै तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गरेर आउनुभएका पुष्पकमल दाहाल बाहिरिएर शेरबहादुर देउवा प्रधानमन्त्री भइसक्दा पनि संविधान संशोधनको गाँठो फुक्न सकेको छैन ।

राजपाले संशोधन पारित भए पनि नभएपनि प्रक्रिया अघि बढाउनुपर्ने अडान लिएपछि सत्तारुड दललाई दुईतिहाइ पुर्याउन समस्या भएको हो । राप्रपासहितका दलको साथ नलिई दुईतिहाइ पुग्ने अवस्था नरहेकाले सत्तारुढ यो अभ्यासमा लागेका हुन् । तर, राप्रपाले सत्तारुढलाई कुनै निर्णय नदिएपछि दाहाल–देउवा अफ्ठेरोमा परेका हुन् ।

आज बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपा अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपति शमशेर राणा सहभागी हुनुहुन्थ्यो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments