मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको निर्वाचन तयारी पूरा भएको छ । एनआरएनए अष्ट्रेलियाको आगामी दुई वर्षको लागि नेतृत्व छनोटको निर्वाचन भोलि जुलाई ८,शनिबारका दिन हुँदैछ ।

निर्वाचन समितिका अनुसार Cyprus Community Hall 495 Lygon Street, Brunswick East मा बिहान ८ बजेदेखि हुने निर्वाचन बेलुका ५ बजे सम्पन्न हुनेछ । अष्ट्रेलियामा नेपाली समुदायबीच सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको संस्था न्याभले निर्वाचनकालागि आवश्यक स्वयंसेवकहरु उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

निर्वाचनमा मतदानको लागि विद्दुतीय प्रविधि प्रयोग हुनेछ । मतदातालाई आइडी र पिन दिईनेछ । उक्त युजर आइडी र पिनलाई मतदाताले कम्प्युटर स्क्रिनमा इन्टर गरेपछि मात्र भोट गर्न पाउनेछन् । मतदाताले भोटको लागि आफूलाई आवश्यक समय खर्चिन पाउनेछन् र सहयोग चाहिएको खण्डमा त्यहाँ उपलब्ध निर्वाचन समितिका सदस्यको सहयोग समेत लिन सक्नेछन् ।

भोट दिन आउँदा मतदाताले आफ्नो परिचय खुल्ने सरकारी आधिकारिक परिचयपत्र जस्तै अष्ट्रेलियन वा नेपाली ड्राईभिङ्ग लाइसेन्स  वा पासपोर्ट ल्याउनुपर्नेछ । विहान ८ बजेदेखि शुरु हुने मतदान कार्यक्रममा मतदाता समय अवधिभित्र मतदानकेन्द्रमा आइपुग्नुपर्नेछ । मतदाताको समय अनुकुलताको लागि उक्त समय तालिका फेरिने छैन ।

निर्वाचन समितिका आयुक्त सुनिल भण्डारीका अनुसार मत परिणाम जुलाई ८ को राति नै सार्वजनिक गरिनेछ । निर्वाचन समितिले राती ११ बजे सम्ममा मत गनेर सकिने अनुमान गरेको छ भने प्राविधिक कामको लागि ३० मिनेट छुट्टाईएको छ । यसरी मतपरिणाम जुलाई ८ को राति ११ः ३० बजे सम्ममा सार्वजनिक गरिसक्ने योजना रहेको आयुक्त भण्डारीले बताउनुभयो ।

निर्वाचनलाई मर्यादित र प्रभावकारी बनाउन निर्वाचन समितिमा यसपटक श्री पन्त, दिवाकर बस्नेत, भोला गिरी र निरु त्रिपाठी लगायतका व्यक्तित्वहरु सदस्य रहनुभएको छ ।

Comments

comments