मेलबर्न । धेरै नेपाली विद्यार्थी र अभिभावकहरुको सपनाको देश बन्दैछ अष्ट्रेलिया । त्यसैले यहाँ पढ्न आउने नेपाली विद्यार्थीहरुको संख्या वर्षेनी बढ्दो छ । कतिसम्म भने आफूसँग नभए पनि ऋण काढेरै छोराछोरीलाई अष्ट्रेलिया पढ्न पठाउँदा गर्व महसुस गर्ने अभिभावकहरु धेरै रहेका छन् । तर अष्ट्रेलियाको जीवनशैली नेपालबाट सोचे जस्तो छैन । व्यस्तता,महँगी र प्रतिस्पर्धी जीवनशैलीले यहाँ आएका नेपाली विद्यार्थीहरुले त्यसमा आफूलाई अभ्यस्त बनाउन निकै संघर्ष गर्नुपर्छ ।

यस्तै अष्ट्रेलिया आएका एक नेपाली विद्यार्थीको जीवनगाथा समेटिएको गीतको म्यूजिक भिडियो भर्खरै रिलिज भएको छ । युवा गायक विराज पुडासैनीको शब्द,संगीत र आवाजमा रहेको र्याप शैलीको ऊ आएको हो अष्ट्रेलिया बोलको गीतमा अष्ट्रेलिया आएका २२ वर्षे नेपाली युवाले अष्ट्रेलियामा गरेको संघर्ष र उसले भोगेको दुखलाई अभिव्यक्त गरिएको छ । अन्त्यमा यहाँको सरकारको एउटा नीति परिवर्तन हुँदा ती युवाले देखेको सपना कसरी समुद्राको छाल जस्तै विलिन भएर जान्छ ? भन्ने कुरालाई प्रस्तुत गरिएको छ । साथै गायक खनालले अष्ट्रेलियामा नेपाली नेपालीबीच नै हुने गरेको असहयोग र खुट्टा तान्ने प्रवृत्तिलाई समेत उजागार गरेका छन् ।

सन्तोष खनालले निर्देशन गरेको यस म्युजिक भिडियोमा मेलबर्नका सुन्दर र आकर्षक दृश्यहरु समेटिएका छन् भने अर्जुन पोखरेलले सम्पादन गरेका छन् । भिडियो तयार पार्न निर्देशक खनाललाई कँडेल कन्सल्ट्यान्सी एजुकेशन एण्ड माइग्रेसनले सपोर्ट गरेको छ ।

Comments