१ जुलाई १८९८ मा चीनले बेलायतलाई थप २ सय ३५ टापु ९९ वर्षका लागि लिजमा दियो । सन् १९३७ मा भएको सिनो जापान युद्धमा अधिकांश चिनियाँ हङकङमा शरणार्थीका रूपमा प्रवेश गरे । दोस्रो विश्वयुद्धको सुरुवाती वर्षहरूमा जापानले आफ्नो साम्राज्य फैलाउँदै जाँदा सन् १९४१ हङकङमाथि कब्जा जमायो । त्यसपछि जापानले दमन सुरु गर्यो ।

खाद्यान्नको अभाव सुरु भयो । १६ लाख जनसंख्या भएको हङकङको जनसंख्या दोस्रो विश्वयुद्धको अन्त्यसम्ममा ६ लाख ५० हजारमा झर्यो । हङकङबाट चिनियाँहरू मुख्यभूमि चीन  फर्किन थाले ।

दोस्रो विश्वयुद्धपछि हङकङमा फेरि बेलायतले शासन सञ्चालन गर्न थाल्यो । चीनमा चिनियाँ कम्युनिस्ट पार्टीले जनयुद्ध सञ्चालन गर्यो । चीनमा भएको जनयुद्धका कारण चीनबाट हङकङ मूल थलो भएकाहरू फेरि हङकङ प्रवेश गरे । सन् १९५० को दशकमा बेलायतको शासनमा रहेका बेला हङकङ आर्थिक विकासको गतिमा अगाडि बढ्यो ।

साना उद्योग सञ्चालनले हङकङलाई समृद्ध बनाउँदै लग्यो । सन् १९७० को दशकमा आइपुग्दा हङकङ एसियाको आर्थिक पावर हाउसका रूपमा ‘एसियन टाइगर’ उदाउँदै गयो । हङकङमा प्रविधिजन्य उद्योग स्थापनाले यसलाई आर्थिक समृद्धितर्फ तीव्र गतिमा अगाडि बढ्न सहयोग गर्यो ।

सन् १९९८ मा ९९ वर्षका लागि बेलायतले हङकङलाई लिजमा दिएको थियो । सन् १९८० दशकमा आइपुग्दा यसको भविष्यबार चीन र बेलायतबीच वार्ता सुरु भयो । सन् १९८४ मा चीन र बेलायतले संयुक्त घोषणापत्रमा हस्ताक्षर गरे । जुन घोषणापत्रमा हङकङ सन् १९९७ देखि चीनको शासनमा रहने उल्लेख थियो ।

घोषणापत्रको अर्को बुँदामा ‘एक देश दुई प्रणाली (वान कन्ट्री टु सिस्टम’ उल्लेख गरिएको थियो । यस अवधारणाअनुसार हङकङ चीनको अधीनमा रहने भन्ने रहेको छ । यहाँ राजनीतिक रूपमा कम्युनिस्ट शासन रहने र साथसाथै पुँजीवादी आर्थिक प्रणाली अर्धप्रजातान्त्रिक राजनीतिक प्रणालीसमेत कायम रहने भयो । सोही अवधारणाअनुसार अहिले पनि हङकङ चीनको शासनअन्तर्गत रहेको छ । सोही घोषणाअनुरूप १९९२ अप्रिलमा क्रिस पाटेन हङकङका अन्तिम बेलायती गभर्नर बने ।

उनलाई हङकङ चीनलाई हस्तान्तरण गर्ने अन्तिम जिम्मेवारी दिएको थियो । अक्टोबरमा उनले हङकङको प्रजातान्त्रिक सुधारका लागि प्रस्ताव घोषणा गरे । जसले निर्वाचित प्रतिनिधिमार्फत प्रजातान्त्रिक अभ्यासलाई थप सुधार गर्ने घोषणा गर्यो । सन् १९९४ जुनमा हङकङको प्रतिनिधि सभाले प्रजातान्त्रिक अभ्यास सुधारका लागि प्याकेजको घोषणा गर्यो । सन् १९९५ मा प्रतिनिधि परिषद्को निर्वाचन सम्पन्न भयो ।

एक देश दुई शासन प्रणाली  १ जुलाई १९९७ मा १ सय ४० वर्ष लामो शासन गरेको बेलायतले हङकङलाई चीनको जिम्मा लगायो । बेइजिङले सांघाईमा जन्मिएका राजनीतिक अनुभव नभएका तुङ ची हलाई नेतृत्वका रूपमा चयन गरी पठायो । त्यसपछि उनको नेतृत्वमा पहिलोपटक सन् १९९८ मेमा हङकङमा निर्वाचन भयो । यससँगै चीनको नियन्त्रणमा हङकङको शासन सत्ता प्रजातान्त्रिक अभ्यासका रूपमा सुरु भयो ।

हङकङमा प्रजातान्त्रिक सुधारको माग राख्दै पटकपटक आन्दोलन हुँदै आएका छन् । सन् २००३ मा चनियाँ प्रधानमन्त्री वेन जियावाओको हङकङ भ्रमण गर्ने अघिल्लो दिन करिब ५ लाख मानिस सडकमा उत्रिए । सन् २००४ मा चीनलाई हङकङको निर्वाचनमा भिटो प्रयोग गर्न सक्नेसम्मको अधिकारसहित कानुन पारित भयो । त्यसयता हङकङमा पटकपटक प्रजातान्त्रिक अभ्यासको माग गर्दै प्रदर्शन हुँदै आएको छ ।

सन् २००४ को डिसेम्बरमा चिनियाँ राष्ट्रपति हुजिन्ताओले सार्वजनिक निर्देशनसहित तुङ ची हलाई हङकङको प्रशासनिक सुधारका लागि निर्देशन दिए । त्यसयता सन् २००७ मा बेइजिङले हङकङका जनतालाई सन् २०१७ मा आफ्ना नेतालाई प्रत्यक्ष निर्वाचन गर्न दिने र सन् २०२० मा प्रतिनिधि सभा निर्वाचन गर्न दिने घोषणा गर्यो । सन् २०१४ मा बेइजिङले २०१७ मा पूर्ण निर्वाचनको अभ्यास गर्ने तर उम्मेदवारहरू बेइजिङले नै तोकेका व्यक्ति हुनुपर्ने गरी निर्देशन जारी गर्यो । यसको विरोधमा फेरि  प्रदर्शन भए ।

हङकङमा प्रत्यक्ष रूपमा चिनियाँ कम्युनिस्ट प्रणाली लागू छ । साथसाथै प्रजातान्त्रिक अभ्यास पनि हुँदै आएका छन् । यहाँ प्रत्येक वर्ष प्रजातान्त्रिक सुधारका लागि प्रदर्शन हुँदै आएका छन् ।

हङकङमा चिनियाँ राष्ट्रपति सी

चीनको सत्तामा आएपछि पहिलोपटक राष्ट्रपति सी जिनपिङ चीनको विशेष प्रशासित क्षेत्र हङकङ पुगेका छन् । हङकङको २०औं वार्षिकोत्सवमा आयोजना हुने विशेष कार्यक्रममा बिहीबार राष्ट्रपति सी हङकङ पुगे । हङकङ पुगेसँगै उनले विशेष प्रशासित क्षेत्र हङकङलाई चीन सरकारले सधैं सहयोग गर्ने बताएका छन् ।
‘केन्द्र सरकारका हैसियतबाट चीनले आफ्नो विशेष प्रशासित क्षेत्र हङकङको विकास र यहाँका नागरिकको उन्नतिका लागि चीनले सधैं सहयोग गर्नेछ,’ उनले भने ।

बेलायतले हङकङ सहर चीनलाई हस्तान्तरण गरेको २०औं वार्षिकोत्सव तथा यहाँको सरकारको पाँचांै वार्षिकोत्सवका अवसरमा हङकङमा आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधनका उनी पहिलोपटक यहाँ पुगेका हुन् । विमानस्थलमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिसँगको संक्षित भेटघाटका क्रममा उनले चीन सधंै हङकङको विकासका लागि तत्पर रहेको बताएको सिन्ह्वाले जनाएको छ ।

तीन दिनसम्म हङकङमा आयोजना हुने विशेष कार्यक्रममा उनी सहभागी हुनेछन् । तीन दिनको बसाइका क्रममा उनले हङकङ हस्तान्तरणको २० वर्षको अवसरमा आयोजित विशेष समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

हङकङ ओर्लिनासथ विमानस्थलमा रहेका हङकङी पत्रकारले उनलाई हङकङको विकासबारे प्रश्न सोधेका थिए । जवाफमा राष्ट्रपति सीले हङकङको सम्पन्नता र समृद्धिका लागि केन्द्र सरकार (बेइजिङ) सधैं साथमा रहेको बताए । सन् १९९७ मा बेलायतले आफ्नो अधीनमा रहेको हङकङ चीनलाई हस्तान्तरण गरेको थियो । त्यसयता बेइजिङले यसमा नियन्त्रण लिएको थियो । त्यसयता केन्द्रीय सरकारका रूपमा चीनले सबै सहयोग गर्दै आएको छ ।

सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव र सन् २०१३ मा चीनको राष्ट्रपति भएपछि उनी अहिलेसम्म हङकङ गएका थिएनन् । हङकङमा केही समययता स्वतन्त्रताको आन्दोलन सुरु भएको छ । सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक आलोचना हुँदै आएको छ । अन्तिमसम्म राष्ट्रपति सीको हङकङ भ्रमण अनिश्चित  जस्तै थियो ।

राष्ट्रपति सीको भ्रमणका समयमा हङकङमा स्वतन्त्रता आन्दोलन चर्किने र राष्ट्रपतिविरुद्ध समेत प्रदर्शन हुने चिन्ताले अन्तिमसम्म सीको भ्रमणको विषयमा बेइजिङले खुलाएको थिएन् । गत हप्ता मात्र उनले हङकङ भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक  गरेको थियो ।

उत्सव र विरोध एकसाथ

हङकङ ओर्लिनासाथ राष्ट्रपति सीले हङकङको विकासका लागि केन्द्र सरकार तयार रहेको बताइरहँदा यहाँको सेन्टिमेन्ट भने विभाजित देखिन्छ । २० वर्षदेखि प्रजातान्त्रिक अभ्यासमा चिनियाँ हस्तक्षपको विरोधमा एकातिर प्रदर्शनको तयारी हुँदै गएको छ । यही प्रदर्शनलाई हेरेर चिनियाँ राष्ट्रपतिको हङकङ भ्रमण अन्तिमसम्म अनिश्चित जस्तै थियो । बेलायतले हस्तान्तरण गर्दा बेइजिङले पुँजीवादी व्यवस्थालाई केही कम्तीमा पचास यथावत् राख्ने वाचा गरेको थियो । तर, त्यस्तो नभएको भन्दै पटकपटक प्रदर्शन हुँदै आएका छन् ।

चीनको प्रमुख चुनौती भनेको यहाँको प्रदर्शन आफ्नो मुख्य भूमिसम्म नफैलियोस् भन्ने नै हो । हङकङलाई केन्द्रमा पारेर चीनविरोधी गतिविधि नहोस् भन्ने यसको स्वार्थ हो । वार्षिकोत्सवको अवसर पारेर एकातिर उत्सवको तयारी हुँदै गर्दा अर्कातिर विरोधको तयारी पनि उत्तिकै छ । चिनियाँ मुख्य भूमिबाट आएकाहरू उत्सवको तयारीमा देखिन्छन् भने बेलायती पुँजीवादी व्यवस्थाका अनुयायी प्रजातान्त्रिक सुधारका लागि सीको भ्रमणलाई लक्षित गरी प्रदर्शनको तयारी गरेका छन् ।

सीको भ्रमणको एक हप्ताअगाडि मात्र प्रहरीले यहाँका प्रजातन्त्रवादी नेताहरूलाई नियन्त्रणमा लिएको छ । हङकङमा नियमित रूपमा २०१४ देखि चीनका संवैधानिक वाचा पूरा गर्न माग गर्दै प्रदर्शन हुँदै आएका छन् । हङकङका २३ वर्षीय प्रतिनिधि सभा सदस्य नाथानले मानिसहरू उत्सवमा भन्दा पनि हङकङको भविष्यबारे चिन्तित रहेको भन्दै एपीले समाचार प्रकाशित गरेको छ । उनी सन् २०१४ को अमे्रला मुभमेन्टका विद्यार्थी नेता हुन् । सी हङकङ आउनु एक दिनअगाडि मात्र सीविरुद्ध सहरको बीच भागमा प्रदर्शन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

हङकङ दुई खेमामा विभक्त भएको अवस्था छ । विरोध हुँदै गर्दा पनि हङकङमा २०औं वार्षिकोत्सव उत्साहसाथ मनाइँदै छ । राष्ट्रपति सीले उद्घोष गरेअनुरूप चीन आर्थिक अवधारणाका आधारमा विकासतर्फ थप अगाडि बढ्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments