काठमाडौं । स्थानीय तह, दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्रदेश नम्बर एक, पाँच र सातमा असार १४ गते ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनको प्रारभिक मतपरिणाममा काँग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको हो ।

अहिलेसम्मको मत परिणामअनुसार,नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका प्रमोद रिजाल विजयी हुनुभएको छ ।

यस्तै यस उपमहानगरपालिकामा मेयर पदमा राप्रपाका उम्मेदवाले अग्रता लिएका छन् । त्यसैगरी  उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

एमाले २ गाउँपालिकामा विजयी भएको छ भने कांग्रेस र माओवादी केन्द्र एक एक गाउँपालिकामा विजयी भएका छन् ।

एमालेले बाजुराको पाण्डवगुफा गाँउपालिका र बझाङको मष्टा गाउँपालिकामा विजय हासिल गरेको छ । काँग्रेसले बझाङको काँडा गाउँपालिकाबाट विजयी यात्रा शुरु गरेको छ भने नेकपा माओवादी केन्द्रले भने सोलुखुम्बुको लिखुपिके गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ ।

निर्वाचन भएका तीन प्रदेशमध्ये काँग्रेस ५ र ७ नम्बर प्रदेशमा बलियो देखिएको छ । प्रदेश नम्बर ७ प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश भएकाले पनि काँग्रेसको प्रभाव बढी देखिन्छ । त्यसैगरी, नेकपा एमाले प्रदेश नम्बर १ मा बलियो देखिएको छ । एमाले अध्यक्ष केपी ओलीको क्षेत्र भएकाले एमाले प्रदेश नम्बर एकमा अगाडि आउने देखिएको छ ।

Comments

comments