काठमाडौं । स्थानीय तह दोश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा आज मतदान हुँदैछ ।

अधिकांश स्थानमा अघि विहान ७ बजेबाट नै मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान भरे साँझ ५ बजेसम्म जारी रहनेछ ।

मतदानका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएका छन् । १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा दोश्रो चरणको निर्वाचन हुँदैछ ।

निर्वाचनमा सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको बताँउदै आयोगले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेको छ ।

दोश्रो चरणको निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन् । ४१ उम्मेदवार भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधिहरू निर्वाचित गर्ने छन् । यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटाइएको छ ।

निर्वाचनमा ४८ संस्थाका ६ हजार ७३३ जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने छन् भने आयोगले ३५ वटै जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता खटाएकोे जनाएको छ ।

यस्तै आयोगले नेपालस्थित कूटनीतिक नियोगका सदस्यहरुलाई तीनवटा प्रदेशका ६ वटा शहर धनकुटा, विराटनगर, भैरहवा, पाल्पा, धनगढी र डडेल्धुरामा अवलोकन भ्रमणको समेत व्यवस्था मिलाएको जनाएको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज र आमसञ्चार माध्यमलाई आग्रह समेत गरेको छ ।

Comments

comments