चितवन । नारायणगढ–मुग्लिन सडक पुनर्निर्माणको काम पहिलो पटकको सम्झौताअनुसार २०१७ को अप्रिलमा सकिसक्नुपर्ने थियो । विभिन्न कारण देखाउँदै दोस्रो पटक सम्झौता गरियो ।

सम्झौताअनुसार डिसेम्बर २१ मा काम सकिनुपर्नेछ । तर, अहिलेसम्मको कामको अवस्थाले समयमा काम पूरा हुने देखिँदैन । योजनाअनुसार १७ प्रतिशत ढिलाइ भएको छ । निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्मनीले सम्झौता भएअनुसार यो अप्रिल महिनासम्म काम सक्नुपर्ने थियो । तर, अहिले ५१ प्रतिशत मात्र काम भएको छ । नाकाबन्दीको कारण देखाउँदै आठ महिना थप गरियो ।

सडक निमार्णका लागि तीनवटा कम्पनीले जिम्मा पाएका छन् । आँपटारीदेखि दासढुङगासम्म ५० प्रतिशत काम भएको छ । यो बेलासम्म ६१ प्रतिशत काम हुनुपर्ने थियो । यो खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ । चार किलोमिटरमा पहिलो तहको कालोपत्रे गरिएको विसिए, एससिसी जेभीका कन्ट्राक्ट म्यानेजर प्रभु जोशीले बताउनुभयो ।

ठेकेदार कम्पनीले आवश्यक जनशक्ति परिचालन नगरेको स्थानीयको आरोप छ । दासढुंगादेखि सिमलतालसम्मको दोस्रो खण्डमा पाँच सय मिटर कटान गर्न अझै बाँकी छ । उक्त खण्डमा २० प्रतिशत काम ढिलाइ भएको छ । ८६ प्रतिशत काम गर्नुभए पनि त्यसअनुसार काम भएको छैन । सिमलतालदेखि मुग्लिनसम्मको तेस्रो खण्डमा ५९ प्रतिशत काम हुनुपर्ने भए पनि ४७ प्रतिशत काम सम्पन्न भएको छ । वर्षा र पहिरोको समस्याले काममा ढिलाइ भएको सुप्रिम चौताहाका जेभीका प्रतिनिधि धर्म धापले बताउनुभयो । ‘लगातारको पहिरोले काम गर्न नपाएपछि कामदार पानी बेच्न थालेका छन’ उहाँले भन्नुभयो, ‘लगातार काम नहुने भएकाले कामदार टिकाउनै गाह्रो छ ।’ सो क्षेत्रमा सय मिटर चट्टान गर्न अझै बाँकी छ ।

सडक आयोजनाका लागि दुई पटकसम्म म्याद थपिएको हो । त्यसअनुसार काम सम्पन्न हुने सम्भावना नभएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो । ’ एकातिर वर्षा र पहिरो अर्कोतिर हजारौँ गाडीलाई व्यवस्थित गरेर काम गर्न निकै कठिनाइ छ’, खनालले भन्नुभयो, ‘बाँकी ६ महिनामा वर्षा र चाडपर्व पनि परेको हुनाले समयमा काम सकिनेमा विश्वास छैन ।’ आयोजनाले कामको अनुगमन र निगरानी गर्ने काम गरेको छ । त्यो अवधिसम्म ७० प्रतिशत मात्र काम पूरा हुने अनुमान गरिएको छ । पहिलो पटक १ सय ३० देखि १ सय ५० दिन सम्झौता अवधि थपिएको हो । दोस्रो पटक ९० देखि सय दिन थपिएको हो । अहिले फेरि ८१ दिनसम्मको म्याद थप्न निर्माण कम्पनीले सिफारिस गरेका छन् ।

बिहान १० बजेदेखि ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर काम गरिएको छ । पहाडका चट्टान झरेपछि पहिरोको जोखिम बढेको हो । नारायणगढ–मुग्लिन सडकका २९ स्थानलाई पहिरोको जोखिम मानिएको छ । तीमध्ये जलबिरेदेखि मुग्लिनसम्म बढी छ । पछिल्लो समय पहिरोको कारण सडक अवरुद्ध हुने भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले चासो दिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यात्रुले दुःख नपाउने वातावरण बनाउन आग्रह गर्नुभयो । ‘बाटो बनेर सुविधा हुने एउटा पाटो भयो, यहाँ मान्छेको ज्यानै जोखिममा छ’, प्रजिअ भट्टले भन्नुभयो ’जनशक्ति र उपकरण कति थप्नुपर्ने हो थप्नुस् तर जनताले दुःख पाउनुभएन ।’ तीन दिनभित्र यातायात नरोकी काम गर्ने उपाय खोजी गर्न भट्टले निर्देशन दिनुभएको छ ।

२०७१ चैत (सन २०१५ अप्रिल) बाट नारायणगढ(मुग्लिन सडकको स्तरोन्नतिको काम सुरु भएको हो । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल(भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत पनि सञ्चालित नारायणगढ(मुग्लिन सडक आयोजना हो । सन २०१७ अगस्टसम्म सक्ने लक्ष्यसाथ सडक निर्माणको जिम्मा ३ वटा कम्पनीले लिएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments