काठमाडौंँ । बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ ।

बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । बाहिरी चक्रपथ आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले पहिलो खण्ड निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको जानकारी दिनुभयो । पहिलो खण्डमा सतुङ्गलदेखि चोभारसम्म (६ दशमलव ६ किलोमिटर) चक्रपथ निर्माण गरिनेछ ।

जग्गा अधिग्रहणका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै अधिकृत सापकोटाले पहिलो खण्डमा १४ हजार सात सय जग्गाधनीको सात हजार आठ सय रोपनी जग्गा अधिग्रहण गरिने जानकारी दिनुभयो । सरकारले जेठ १५ गते जग्गा अधिग्रणको सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ । पूरा चक्रपथ निर्माणका लागि विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) तयार भइसकेको जानकारी दिँदै उहाँले जग्गा अधिग्रहणको काम यसै हप्ताभित्र सम्पन्न हुने बताउनुभयो । जग्गा अधिग्रहणपछि उपभोक्ता समिति गठन गरेर निर्माण कार्यलाई अगाडि बढाइनेछ । बढीमा असोजको पहिलो हप्तादेखि यस खण्डको निर्माण सुरु हुने जानकारी उहाँले दिनुभयो ।

चक्रपथ निर्माणका लागि सडकको दुवै छेउबाट जग्गा एकीकरण प्रक्रियामार्फत २५०÷२५० मिटर जग्गा प्राप्त गरिनेछ, यस प्रक्रियाबाट जग्गा प्राप्त गरिँदा कोही पनि विस्थापित नहुने तथा सरकारले जग्गाको मुआब्जा पनि दिनु पर्दैन ।  जग्गा एकीकरण कार्यलाई सहज बनाउन यस खण्डलाई ६ वटा इलाकामा विभाजन गरिएको छ भने प्रत्येक इलाकालाई विभिन्न ब्लक र प्रत्येक ब्लकलाई विभिन्न टोलमा विभाजन गरिएको छ ।  यस क्षेत्रमा ३८ वटा ब्लक र ५५६ वटा टोल प्रस्ताव गरिएको छ ।

प्रत्येक इलाकामा चक्रपथको लम्बाइ करिब एक किलोमिटर हुनेछ ।  यस क्षेत्रमा कीर्तिपुर र चन्द्रगिरी नगरपालिका परेको छ ।  त्यसैगरी, हरेक घडेरीले न्यूनतम २० फिट र अधिकतम ५० फिट बाटो पाउनेछन् ।  हरेक जग्गाधनीले दामासाहीको आधारमा जग्गा प्राप्त गर्नेछन् ।  ‘ल्यान्डपुलिङ’ सिद्धान्तका आधारमा जग्गा एकीकृत गरेर त्यसलाई विकास गरेपछि वितरण गरिने भएको हुनाले कोही पनि विस्थापित नहुने र सबैलाई न्यायोचित वितरण हुने शाखा अधिकृत सापकोटाले बताउनुभयो ।

बाहिरी चक्रपथ काठमाडाँैंमा ३५ दशमलव आठ किलोमिटर, ललितपुरमा १५ दशमलव आठ किलोमिटर र भक्तपुरमा २१ दशमलव पाँच किलोमिटर दूरी पर्नेछ ।  काठमाडौँमा बाहिरी चक्रपथले चोभार, गाम्चा, सतुङ्गल, नैकाप, पुरानो भज्याङ, सीतापाइला, नागार्जुन डाँडा, नेपालटार, गोङ्गबु, टोखागाँउ, चपली, कपन, जगडोल, सन्डोल र थलिडाँछीलाई जोड्नेछ ।  त्यसैगरी ललितपुरमा लुभु, सिद्धिपुर, हरिसिद्धि, ठैब, धापाखेल, ठेचो, घम्पी, बुङ्मती र खोकनालाई जोड्नेछ ।
भक्तपुरमा चाँगुनारायण, दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथली, चितापोल, भक्तपुर, कटुन्जे, मध्यपुर नगरपालिका, दधिकोट र सिरुटारलाई चक्रपथले जोड्ने शाखा अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments