चिकित्सकहरुले बिरामी जाँचेको शुल्क मनपरी लिएपछि स्वास्थ्य सेवा सर्वसाधारणको पहुँच भन्दा निकै पर गएको धेरैको गुनासो छ । तर अब त्यसबाट केहि राहत पाउने छ । किन भने स्वास्थ्य मन्त्रालयले लगाम लगाएको छ । मनपर्दी शुल्क लिने र बिरामीसँग पर्याप्त अन्तर्क्रिया नगर्ने प्रवृत्ति रोक्न सरकारले स्वास्थ्य सेवा शुल्कमा सीमा तोकेको छ।

स्वास्थ्य मन्त्रालयले डाक्टरको डिग्री र अनुभवका आधारमा उनीहरूले लिन पाउने अधिकतम सेवा शुल्कको सीमा निर्धारण गरेको हो। सरकारको सेवा शुल्क निर्धारण समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णयबाट बुधबार स्वीकृत यससम्बन्धी निर्देशिका यही असोज १ देखि लागू हुनेछ।

निर्णयअनुसार एमबिबिएस पास गरेका डाक्टरले २ सय ५० रुपैयाँ शुल्क लिन पाउनेछन्। त्यसपछि अनुभव र शैक्षिक योग्यताका आधारमा शुल्क बढ्दै जानेछ। एमडी/एमएस र त्योभन्दा बढीको डिग्री भएका डाक्टरले ५ वर्षभन्दा बढीको अनुभवपछि अधिकतम ४ सय ७५ रुपैयाँसम्म शुल्क लिन पाउनेछन्।

एमबिबिएसपछि पाँच वर्षभन्दा बढी अनुभवप्राप्तले ३ सय, विशेष तहको तालिम (पोस्ट ग्रा्यजुएट डिप्लोमा) गरेका डाक्टरका हकमा पाँच वर्षे अनुभवसम्म ३ सय ५० र पाँच वर्षपछि ४ सय रुपैयाँ शुल्क तोकिएको छ। एमडी/एमएस र त्योभन्दा माथिको जुनसुकै अध्ययन पूरा गरेकाले पाँच वर्षसम्म ४ सय ५० र पाँच वर्षको अनुभवपछि ४ सय ७५ सम्म शुल्क लिन पाउनेछन्।

डाक्टरले तोकिएको सीमाभित्र रहेर शुल्क लिनुका साथै आफ्नो शुल्क सबैले देख्नेगरी टाँस्नुपर्ने व्यवस्था गरिएको छ ।

Comments

comments