दार्जीलिङ।  भारतको पश्चिम बंगाल पुलिसले बिहीबार बिहान गोरखा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरुङको दार्जिलिङस्थित घरमा छापा मारेको छ । पुलिस भारी बलका साथ गुरूङको घरमा पुगेको थियो  । बंगाल पुलिससँगै अतिरिक्त बल पनि त्यहाँ पुगेको थियो । गुरूङको घरमा दार्जिलिङका एसपी अखिलेश चतुर्वेदीको अगुवाईमा छापा मारिएको हो ।

बिमल गुरूङको घरमा पुलिसको छापापछि उनका समर्थक भड्किएका थिए । उनीहरूले कलिमपोङ जिल्लाको पेडोङ्ग पुलिस थानामा आगो लगाइदिएका छन् । पटलाभासमा गोरखा जनमुक्ति मोर्चाको कार्यालय पनि पुलिसले सिल गरिदिएको छ ।

गुरूङको घरमा छापा हानिएपछि जीजेएम समर्थकले पुलिसमाथि ढुंगा बर्साएका थिए । उनीहरूले सरकारी सवारी साधनमा पनि आगो लगाइदिएका छन् ।

पुलिसले छापा मारेको समयमा गुरूङ घरमा थिएनन् । तर , पार्टीका कयौँ महिला कार्यकर्ता त्यहाँ रहेका थिए । छापा मार्ने क्रममा पुलिसले करिब आधा घन्टासम्म त्यहाँ रहेर छानबिन गरेको थियो । पुलिसले त्यहाँबाट तीर, खुकुरी, चक्कुसमेत समेत कयौँ हतियार बरामद गरेको दाबी गरिएको छ ।

घरेलु हतियार बरामद भएपछि प्रतिक्रिया दिँदै गुरूङले यस प्रकारका तीर-कमान र चक्कु घरमा राखिनुलार्इ आफ्नो परम्परा भनेका छन् । उनले आदिवासी भएकाले यस्ता हतियार राखिनु सामान्य भएको बताएका छन् ।

यसभन्दा अघि दार्जिलिङमा चलिरहेको राजनीतिक संकटले अहिले नयाँ मोड लिएको हो । दार्जीलिङमा दुर्इ नेपाली भाषी संगठनले आन्दोलनमा सहकार्य गर्ने निर्णय गरेपछि अर्को समूह बाहिरिएको थियो ।

टिएमसी पार्टीले गठन भएदेखि नै गोरखाल्यान्डका लागि लडिरहेको दाबी गरेको छ । गोरखा नेशनल लिबरेशन फ्रन्टसँग गठबन्धनबाट उत्साहित गोरखा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरुङले अलग गोरखाल्यान्डका लागि आन्दोलन तीब्र पार्ने धम्की दिएका छन् ।

आन्दोलन चर्किएपछि सरकारी कार्यालय र गोरखाल्यान्ड क्षेत्रीय प्रशासनका कार्यालयमा तेस्रो दिन पनि कामकाज ठप्प रहेको छ ।

नेता सुभाष घिसिङको नेतृत्वमा बनेको जिएनएलएफले सन् १९८० को  दशकमा गोरखाल्यान्डका लागि हिंसक आन्दोलनको सुरुवात गरेका थिए ।

त्यसपछि दार्जिलिङ गोरखा हिल काउन्सिलको गठन गरिएको थियो । गुरुङ जीएनएलएफबाट अलग भएका थिए । सन् २००७ मा जीजेएमको स्थापना गरेर दार्जीलिङ पहाडमा ठुलो शक्तिका रूपमा उनी उदाएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments