धादिङ । दक्षिणी धादिङको अति विकट ब्रुसबाङ गाउँमा उत्पादित अन्नले खान नपुग्ने भएपछि यहाँका चेपाङ समुदाय सिस्नु, गिठ्ठा र टाँकीको मुन्टाले छाक टार्न बाध्य भएका छन् । कन्दमूलमा बाँचेको बु्रसबाङलाई अब छाक टार्न पनि मुस्किल भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ मा पर्ने बु्रसबाङमा ३७ परिवार चेपाङको बसोवास छ ।

भीरमा रहेको खोरियामा निकै संघर्ष गरी छरेको मकैले ६ महिना पनि राम्रोसँग खान पुग्दैन । समय परेको वर्ष उत्पादन पनि ठिकै हुन्छ, नत्र खडेरीले बोट सुकेपछि उत्पादनै हुँदैन । उत्पादित अन्नले खान नपुग्ने भएपछि स्थानीय चेपाङ समुदाय जंगली कन्दमूल र सिस्नो तथा टाँकीको सहारा लिन बाध्य भएको बताउँछन् । राममाया चेपाङ बाबु–आमा र तीनजना बच्चालाई बिहान–बेलुकाको छाक टार्न मुस्किल भएको बताउँछिन् । घरछेउमा रहेको सिस्नोको बोटमा मुन्टा टिप्दै गरेकी चेपाङले भनिन्, ‘खाए पनि सिस्नो, नखाए पनि सिस्नो, बारीमा टिपे पनि सिस्नो, जंगल गए पनि सिस्नो, यही सिस्नु छ र हामी बाँचेका छौँ, नत्र के बाँचिन्थ्यो ।’ सिस्नो नपाएको खण्डमा उनीहरू टाँकीको मुन्टासमेत खाने गरेका छन् । महिनादिन भइसक्यो टाँकीको मुन्टा खाएको । बारीको डिलमा सिस्नु टिप्दै गरेकी दिलमाया चेपाङको पनि हाल उस्तै छ ।

ज्यानै जालाजस्तो भो

चैतको मध्यतिरबाट लगातार बिहान गिठ्ठा, बेलुका सिस्नु खाएका उनीहरूले खाद्यान्न अपुगले बाँच्न गाह्रो भएको बताएका छन् । ‘अब त खोज्न जान नसक्ने गरी गलिसक्यौँ,’ दिलमाया चेपाङले भनिन्, ‘घरमा मकै पनि छैन, लगाएको ८ महिनामा पाक्ने मकैले आठजनाको परिवारलाई मुस्किलले चार महिनासम्म खान पुग्छ । मकै पाक्न कात्तिक पर्खनुपर्छ, कसरी बाँच्नु ?’

६७ वर्षीय चन्द्रमान चेपाङ बिहान छोरालाई साथी लिएर गिठ्ठा तास्दै थिए । अघिल्लो दिन बाबुछोराले दिनभर वन चहारेर आधा डोको गिठ्ठा ल्याएका चन्द्रमानले भने, ‘अब त जंगलमा टाँकी, गिठ्ठा, सिस्नु पनि मासिँदै गइसक्यो । पहिला एक दिन वन गएपछि २–३ दिन जानुपर्दैन थियो । अहिले त दिनभर चहार्दा बेलुकाको छाक टर्दैन । यस्तै हो भने अर्को वर्ष भोकमरीले मरिन्छ,’ उनले भने । काम गर्न बेनीघाट गएमा दिनको दुई सय कमाउँछन् ।

प्रजा विकास कार्यक्रमले पनि बु्रसबाङका चेपाङलाई केही नगरेको गाउँका अगुवा ७६ वर्षीय टेकबहादुर चेपाङ बताउँछन् । गाउँमा सरकारी कर्मचारी प्रजा विकास कार्यक्रमबाट एकपटक आएको र त्यसपछि कुनै कर्मचारी नआएको उनले बताए । ‘हामीलाई कि खानेपानी दिनुपर्छ, कि प्रतिपरिवार खेतीयोग्य जमिन दिनुपर्छ,’ उनले भने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments