काठमाडौं । न्यायिक र शान्तिपूर्ण समाज स्थापनाकालागि नेपाली सञ्चार क्षेत्र गम्भीरतापूर्वक लागिरहेको सरोकारवालाहरुले जिकिर गरेका छन् ।

अभिव्यक्ति स्वतन्त्रताका कारण नेपाली सञ्चार क्षेत्रले न्यायिक र शान्तिपूर्ण समाजका लागि सकरात्मक भूमिका निर्वाह गर्न सफल भएको उनीहरुको दाबी छ ।

विश्व शान्तिकालागि क्रियाशील अन्तराष्ट्रिय गैर सरकारी संस्था हेभेन्ली कल्चर,वल्र्ड पिस रेष्ट्रोरेशन अफ लाइट (HWPL) ले पहिलोपटक आयोजना गरेको न्यायिक शान्तिपूर्ण समाज स्थापनाकालागि प्रेस स्वतन्त्रता र दायित्व शीर्षकको अनलाइन बहसमा सहभागी नेपाली पत्रकारहरुले नेपालमा प्रेसको स्वतन्त्रताको विषय सन्तोषजनक रहेको बताएका हुन् । प्रेस स्वतन्त्र भएकैले न्यायिक र शान्तिपूर्ण समाज स्थापनाकालागि नेपाली सञ्चार क्षेत्रले उल्लेखनीय भूमिका खेल्न सम्भव भएको उनीहरुको जिकिर छ ।

बिबिसी नेपाली सेवाका पत्रकार गानी अन्सारीले आदर्श समाजमा कुनै डर र त्रासको अवस्था हुन नहुने जिकिर गरे । नागरिकले आफ्नो कुरा निर्धक्क राख्न सक्ने कानूनी व्यवस्था भएपछि समाजमा न्याय र शान्ति स्वतः स्थापना हुने उनको भनाइ थियो ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले नागरिकको स्वतन्त्रतालाई प्रेसले पनि सम्मान गर्नुपर्ने बताए ।

वहसमा एभिन्यूज टेलिभिजनका समाचार सम्पादक राजेन्द्र बानियाँले नागरिकहरुको मौनतालाई शान्ति भन्न नसकिने तर्क गरे । भय र त्रासका कारण पनि नागरिकहरु मौन रहन सक्ने उनको भनाइ थियो ।

एचडब्लुपिएलले अनलाइन फोरम भ्वइस अफ पिस अन्तर्गत युक्रेन,नाइजेरिया,अल्जेरिया र मलेसिया सहित विभिन्न १२ मुलुकका पत्रकारहरुसँग अन्तक्र्रिया गरिसकेको छ ।

Comments

comments