“नेपाली युवा विदेश जानुका विविध कारण होलान्, तर सपना देख्ने र ती सपना पूरा गर्न मेहनत गर्नेका लागि नेपालमै पनि कम अवसर नभएका भने होइनन् ।“

मैले काम गर्न सुरु गर्दा म १७ वर्ष पुगेकी थिएँ । तर मैले त्यति बेलै के बुझेँ भने म नेतृत्व र कार्यकारी तहमा रहेर आफ्नो भूमिका निर्वाह गर्न चाहान्छु । पेशाका आधारमा मान्छेको पहिचान बनाउने आफ्नै स्वभाव भएको नेपाली समाजमा जन्मिएकी थिएँ म । त्यसैले मैले समाजले इज्जतदार ठान्नेमध्येकै चार्टर्ड एकाउन्टेन्सी (सिए) पेशा अपनाउनकालागि अध्ययन थालेँ । मैले तिन महिना ब्याङ्क अफ काठमान्डुमा इन्टर्नसिप पनि गरेँ । तर पढ्न थालेको दुई महिनामै मलाई प्रष्ट भयो कि मेरो स्वभाव सिए हुने होइन । परिवारको दबाब सामना गरेरै सिएको पढाइ छाडेर म एस इन्स्टिट्युट अफ म्यानेजमेन्टमा भर्ना भएँ ।

एसमा भने कार्यक्रम व्यवस्थापन (इभेन्ट म्यानेजमेन्ट)प्रतिको मेरो रुचि र पढाइको विषय मिलेजस्तो लाग्यो मलाई । म कलेजभित्र र बाहिरका विभिन्न कार्यक्रमको व्यवस्थापनमा संलग्न हुन थालेँ । आफूले गरेका काममा रमाउँदै म हरेक दिन नयाँ कुरा सिकिरहेकी थिएँ ।
यसैबीच सन् २०१४ मा म नेपालस्थित संयुक्त राज्य अमेरिकाको दूतावासद्वारा गठित युवा परिषद्को सदस्य बनेँ र मेरो जिन्दगीको बाटो मोडियो । त्यहाँ रहँदा मैले सामाजिक मुद्दाहरूमा युवा संलग्नता र सहभागिताले के महत्व राख्छ भन्ने कुरा बुझ्न पाएँ । युवा परिषद्को सदस्यका रूपमा मेरो कार्यकाल सकिने बित्तिकै एक जना साथीले मलाई उहाँहरूको कार्यक्रम व्यवस्थापन गर्न लगाउनुभयो । उक्त कार्यक्रम एकदमै सफल भयो, अनि हामीले ओपन स्पेस नेपाल नामको संस्था स्थापना गर्ने निधो ग¥यौँ । यो गैरनाफामूलक सामाजिक संस्थाले विशेषतः सञ्चार र शिक्षा, पैरवी तथा सिर्जनात्मक अन्वेषणमा युवा सहभागिताका लागि काम गर्दछ । त्यसको करिब ३ वर्षपछि, म आफैँले ओपन स्पेस नेटवर्क नामको संस्था खोलेँ । यसले विभिन्न कार्यक्रम र महोत्सव मार्फत् उत्पादन र उपभोक्ताबीचको दूरी हटाउने काम गर्छ । हामीले हरेक वर्ष गरिरहेको एउटा महत्वपूर्ण कार्यक्रम ‘६० सेकेन्ड अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हो । संसारभरिका युवा र उदाउँदा चलचित्रकर्मीमा केन्द्रित पाकिस्तानबाट शुरु भएको यस कार्यक्रमका लागि म राष्ट्रिय निर्देशक रहेकी छु ।

यसका साथै टुडेज टेलिग्राम नामको छालाजन्य तथा अन्य सामग्री उत्पादन गर्ने कम्पनीमा बजार प्रमुखका रूपमा पनि म कार्यरत छु । यस कम्पनीले नेपाली डिजाइनरकै योजनामा नेपाली कच्चा पदार्थ प्रयोग गरी झोला, पेटी लगायतका सामग्री उत्पादन गरी राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय बजारमा व्यापार गर्दछ ।

म मुस्लिम महिलाबारे समाजमा रहेको परम्परागत दृष्टिकोणलाई बदल्न चाहान्छु र महिलाले समाज बदल्न कस्तो भूमिका खेल्न सक्छन् भन्ने कुरा देखाउन चाहान्छु । छोटो समयमै धेरै लामो यात्रा गरेजस्तो पनि देखिएला, तर मैले हिँडेको बाटो पनि पक्कै सजिलो थिएन । यहाँसम्म आइपुग्न मैले धेरै पसिना चुहाएकी छु, धेरै कुरा त्यागेकी छु । आजको भोलि नै सफलता त कसले पो पाउँछ र ?
नेपाली युवा विदेश जानुका विविध कारण होलान्, तर सपना देख्ने र ती सपना पूरा गर्न मेहनत गर्नेका लागि नेपालमै पनि कम अवसर भएका भने होइनन् । मैले जीवनबाट सिकेको पाठ नै यो हो कि सपना देख्न हामीले छाड्नुहुँदैन । आफैँ सपना देख्न सकिएन भने आफ्ना सपना पहिल्याइसकेकाहरूलाई ती सपना पूरा गर्न सहयोग गर्नुपर्छ ।

(ओपन स्पेस नेटवर्ककी संस्थापक फैजा परवीनको अनुभवमा आधारित)

Comments

comments