मेलबर्न। अष्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पा तत्काल औपचारिक कार्यक्रममा सहभागी नहुने भएको छ ।

शुक्रवार विहान आइपुग्नुभएका राजदूत शेर्पाले यसै महिना भित्र यारालुम्लास्थित कमनवेल्थ अफ अष्ट्रेलियाका गभर्नर जनरल पिटर कोस्ग्रोवको कार्यालयमा आफ्नो ओहादाको प्रमाणपत्र बुझाउनुहुनेछ । त्यसपछि मात्रै उहाँ अष्ट्रेलियामा हुने औपचारिक कार्यक्रममा सहभागी हुनुहुने दूतावास स्रोतले जनाएको छ ।

नेपाली दूतावास परिवार लगायत राजदूत शेर्पालाई स्वागत गर्न अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयबाट डेपुटी चिफ अफ प्रोटोकल मिस पामेला ओ ग्राण्डी विमानस्थल पुग्नुभएको थियो ।

राजदूत शेर्पाको नियुक्तिले लामो समयपछि अष्ट्रेलियाका लागि नेपाली राजदुतको लामो रिक्तताको अन्त्य भएको छ ।

गत वर्ष मे महिनामा राजदूत रूद्रकुमार नेपालको कार्यकाल सकिएपछि दूतावास कार्यालय कामुको भरमा चल्दै आएको थियो ।

एक वर्ष पछि महामहिम राजदूतलाई स्वागत गर्न पाउँदा दूतावासका कर्मचारीहरुले पनि खुशी व्यक्त गरेका छन् । अब नेपाल र अष्ट्रेलियावीचको कुटनैतिक सम्बन्ध अगाडि बढाउनुपर्ने कामहरुमा सजिलो हुने उनीहरुको विश्वास छ ।

अष्ट्रेलियामा २००७ मा नेपाली नियोग खुलेपछि २००८ मा योगेन्द्र ढकाल पहिलो नेपाली राजदूतका रुपमा २०१२ सम्म कार्यरत रहनुभएको थियो । यस्तै २०१२ देखि २०१६ सम्म रुद्रकुमार नेपाल दोस्रो नेपाली राजदूतका रुपमा रहनुभएको थियो । लक्की शेर्पा अष्ट्रेलियाका लागि तेस्रो नेपाली राजदूत हुनुहुन्छ ।

राजदूत शेर्पाको अष्ट्रेलिया आगमनपछि यहाँका नेपालीहरुले राजदूत लक्की शेर्पालाई सामाजिक सञ्जाल मार्फत स्वागत गरेका छन् ।

Comments

comments