काठमाडौं । मुलुकको ४० औं प्रधानमन्त्रीमा नेपाली काँग्रेसका शेरबहादुर देउवा निर्वाचित हुने पक्कापक्की भएको छ । शनिवार प्रधानमन्त्रीकालागि उम्मेदवारी दर्ता गराउनभएका नेपाली कांग्रेसका सभापति देउवाको पक्षमा प्रष्ट बहुमत देखिएपछि उहाँ ४० औं प्रधानमन्त्री बन्नुहुने देखिएको हो ।

नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार सदमा निर्वाचन हुँदैछ । प्रधानमन्त्रीका लागि संसदको दोस्रो ठूलो दल नेकपा एमालेले उपाध्यक्ष बामदेव गौतमलाई अगाडि सार्ने तयारी गरेको छ । यद्यपी त्यसको औपचारिक निर्णय भने भइसकेको छैन ।

कुनै ठूलो राजनीतिक उथलपुथल नभए मुलुकको ४० औं प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा निर्वाचित हुने पक्का भएको छ । संसदमा हाल कायम सदस्य संख्याको बहुमत सदस्यले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नेछन् ।

संसदमा अहिले संसदको सदस्य संख्या ५९३ छ । प्रधानमन्त्री बन्न देउवालाई २९७ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्रीका उम्मेदवार देउवाकै दल कांग्रेसका २०६ सांसद छन् । यस्तै नेकपा माओवादी केन्द्रका सांसदको संख्या ८१ छ र १६ सांसद संख्या रहेको विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले समर्थन गर्दा देउवालाई आवश्यक बहुमत भन्दा बढी ३०३ मत पुग्छ । त्यसमा पनि ३ सांसद संख्या रहेको नेकपा संयुक्तसँगै एक–एक सांसद संख्या रहेको अखण्ड नेपाल पार्टी, समाजवादी जनता दलले पनि देउवालाई समर्थन गरेका छन् । यो सबै जोड्दा देउवालाई समर्थन गर्ने सांसदको संख्या ३०८ पुग्छ ।

वर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजय गच्छदार, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंहको समर्थनमा देउवाले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments