काठमाडौं । प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया शनिवारदेखि शुरु हुँदैछ । सभामुख ओनसरी घर्तीमगरले शुक्रवा सूचनाद्वारा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।

कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । सभामुखको निर्देशनमा संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी कार्यतालिकामा शनिबार साढे ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र आइतबार बिहान ११ बजे संसद् बैठकमा मतदानको कार्यक्रम तय गरिएको छ । कांग्रेससँगको आलोपालो सहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुन लागेको हो ।

कांग्रेस–माओवादी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसके पनि विपक्षी मोर्चाले उम्मेदवारी दिने÷नदिने निर्णय गरेका छैनन् ।संविधानको धारा २९८ को उपधारा २ बमोजिम तोकिएको सात दिनको समयभित्र सहमतीय सरकार गठन नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही धाराको उपधारा ३ बमोजिम बहुमतीय सरकार गठनका लागि बिहीबार संसद्लाई पत्र पठाउनुभएको थियो । राष्ट्रपतिबाट पत्र प्राप्त भए पनि संसद् अवरोध नफुकाई निर्वाचन प्रक्रिया अघि नबढाउन विपक्षी एमालेसहितका दलले सभामुखसँग आग्रह गरेका थिए ।

Comments

comments