मेलबर्न । अष्ट्रेलियामा भव्यताका साथ ‘नेपाल पर्यटन प्रबर्द्धन साँझ २०१७’ सम्पन्न भएको छ । मेलबर्न स्थित नेपाली दूतावास क्यानबेरा र नेपाली अवैतनिक महावाणिज्यदूत कार्यालय भिक्टोरियाको संयुक्त आयोजनामा बेल सिटि मन्त्र होटलमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई नेपाल टुरिजम बोर्ड तथा भिक्टोरीयाको नेपाली ट्राभल्स् एण्ड टुर्सले सहयोग गरेका थिए ।

नेपाल पर्यटन प्रबर्द्धन साँझ भिक्टोरीयामा रही नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने अष्ट्रेलियन ट्राभल अपरेटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको हो । सोही अनुरुप कार्यक्रममा अष्ट्रेलियन ट्राभल अपरेटरहरु तथा एयर लाइनस्का प्रतिनिधित्वहरुको उल्लेख्य सहभागिता थियो । यसका साथै साँझ पाँच बजेदेखि चार घण्टा चलेको कार्यक्रममा अष्ट्रेलियन सरकारी अधिकारीहरु, राजनीतक नेतागण, विभिन्न देशका महवाणिज्यदूत, काउन्सिलका पदाधिकारीहरु, ट्राभल एजेन्ट र टुर अपरेटरका भिक्टोरियाको नेपाली समूदायका अगुवाहरु साथै स्थानीय सञ्चारमाध्यमहरुको उपस्थिति रहेको थियो ।

नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भिक्टोरियाको पर्यटन तथा साँस्कृतिक स्याडो मन्त्री हेइडी भिक्टोरीया, नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन तथा नेपाली दूतावास क्यानबेराको प्रतिनिधि सहचारी डिल्लीराम शर्माले संयुक्त रुपमा पानसमा बत्ती बालेर गर्नुभएको थियो ।

कार्यक्रममा एभरेष्ट भ्यू ट्राभल्स् तथा बुद्ध ट्राभल्स्को संयुक्त प्रयासमा नेपालको पर्यटन स्थलहरुको भिडियो देखाउँदै नेपाल घुम्न चाहनेहरुलाई नेपाल किन विशेष हुन सक्छ भन्ने कुराको जानकारीमुलक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । त्यसैगरी पहिलो विदेशी सगरमाथा आरोही एण्डमन हिलारीको नाती जोर्ज हिराली र भर्खरै नेपाल घुमेर आएका अष्ट्रेलियन नागरिक डेभिड म्याकथुरले नेपालको प्राकृतिक सुन्दरता, कला र संस्कृतिको पक्षमा बेल्दै नेपालको पर्यटकीय क्षेत्रहरुको विषयमा तयार पारेको दृश्य सामग्री समेत प्रस्तुत गर्नुभयो ।

नेपालबाट अष्ट्रेलिया आउनुभएका आचार्य गुरु कमल मोक्तान तामाङ्गले कार्यक्रममा गौतम बुद्धलाई सम्झदै शान्ति ध्वनी र मन्त्र जप्नुभेको थियो । 

बाल चौतारीका स–साना नानीहरुले कार्यक्रममा नेपाली र अष्ट्रेलियन राष्ट्रिय गाना गाउँदै नेपाली गीतमा नृत्य पनि गरेका थिए ।

कार्यक्रमको स्वागत गीतमा बज्रयोगीनी नृत्य समावेश गरिएको थियो भने कार्यक्रमभरी नेपालको हिमाल, पहाड र तराई झल्किने सांस्कृतिक प्रस्तुतिहरु थिए । कार्यक्रममा प्रवेशद्वारलाई बुद्धको मूर्तिदेखि चित्रकार ग्यालरीको नेपाल झल्काउने विभिन्न चित्रहरुले सजाईएको थियो ।

कार्यक्रममा भिक्टोरीयास्थित व्यवस्थापिका परिषद्का अध्यक्ष बुश्र एटकिन्सन विशिष्ट अतिथि रहनुभएको थियो । छोटोसमयको लागि उपस्थित भएका एटकिन्सनले महावाणिज्यदूत कार्यालयले आयोजना गर्ने हरेक वर्षको नेपाल पर्यटन प्रबर्द्धन साँझमा आफू उपस्थित हुन पाउँदा एकदमै रमाइलो लाग्ने र यस कार्यक्रमले नेपालका पर्यटकीय गन्तव्यको विषयमा अष्ट्रेलियावासीलाई जानकारी गराउन मद्दत पुर्याउने बताउनुभयो ।

सहभागीहरुलाई स्वागत गर्दै सहचारी डिल्लीराम शर्माले २०१५ सालमा नेपालमा गएको महाभुकम्पको क्षतिबाट देश पुन: निर्माणमा फर्किसकेको र नेपाल अन्तराष्ट्रिय पर्यटकहरु भित्र्याउन आतुर रहेको बताउनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ ग्लोबलका अध्यक्ष एवं भूकम्पपछिको पुननिर्माणका लागि सहयोग जुटाउन नेपाल सरकारबाट नियुक्त विशेष दूत शेष घलेले तीन वर्षअघि नेपालमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको लाप्राक नमूना वस्ती निर्माणको प्रगतिबारे जानकारी गराउँदैे अष्ट्रेलियावासीहरुलाई पनि यो पुन:निर्माणमा स्वयंसेवा गर्न आह्वान गर्नुभयो । उहाँले लाप्राक प्राकृतिक रुपले एकदमै सुन्दर ठाउँ भएको समेत जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि हेइडी भिक्टोरीयाले नेपाली खाना, रहनसहन, समूदायको एकता, सद्भाव र सांस्कृतिक विविधताले आफुलाई निकै आकर्षित गरेको बताउनुभयो भने अष्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका प्रमुख बिल सोर्टनकी प्रतिनिधि जेनिफर याङ्गले नेपाली समूदायले आफ्नो कला, संस्कृतिको संरक्षण गरेर बहुसांस्कृतिक अष्ट्रेलियामा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका प्रतिनिधि चिरञ्जीवी देवकोटाले बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भिक्टोरियास्थित संघसंस्था, व्यक्ति र समूदायलाई दिनुभएको सन्देश प्रस्तुत प्रस्तुत गर्नुभएको थियो। साथै उहाँले नेपालले आगामी सन् २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेकोले थप सहयोग र सहकार्य अपेक्षा गरिएको समेत बताउनुभएको थियो ।

कार्यक्रमको सभापतित्व गरिरहेका भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले विशेषगरी भिक्टोरियामा रहेको कुटनीतिक समूदाय, नेपाली ट्राभल एजेन्सीहरु, अष्ट्रेलियन ट्राभल एजेन्टहरु, नेपाल पर्यटन बोर्डका साथै नेपालमा उडान गरिरहेका विमान कम्पनीहरुको सहभागिताले कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । सुख दु:खमा सधै एकजुट भएर काम गर्ने गरेको भन्दै योञ्जनले नेपाली समूदायको खुलेर प्रशंसा गर्नुभयो । उहाँले कार्यक्रम सफल पार्न सहयोग गर्ने यहाँको मिडियाकर्मीहरु लगायत सबैलाई धन्यवाद दिनुभएको थियो ।

ट्राभल्स् एण्ड टुर्स, नेपाल घुमेर आएका पर्यटकहरु, नेपालको सहयोगको लागि खोलिएको विभिन्न आइएनजीओका प्रतिनिधित्वहरु र नेपालमा लगानी भित्र्याउने विभिन्न अष्ट्रेलियनहरुको बीच राफल चिठ्ठाको आयोजना गरिएको थियो । समावेश गरिएका पुरस्कारहरु सबै नेपाली झल्काउने सामान र अफरहरु रहेका थिए । एउटा पुरस्कारमा नेपाल पर्यटन बोर्डले दुई जनाको लागि ६ नाइट ७ दिनको लागि नेपालमा निशुल्क बस्ने व्यवस्था, घुम्ने र खाने व्यवस्था गरेको थियो भने अर्को ठूलो पुरस्कार भनेको नेपाल जाने र मेल्वर्न फर्कने हवाइ टिकट जुन चाइना साउर्दन एयरलाइन्स्ले एभरेण्ट भ्यू ट्राभल्स संग मिलेर दिएको थियो ।

मेल्वर्नका विभिन्न नेपाली रेष्टुराँ, मोटल र होटल व्यवसायी , ट्राभल्स् टूरर्स तथा अन्य कन्सल्टेन्सिहरुले नेपालको प्याकेज र नेपाली खानाको डिनर अफरमा राखेका थिए । कार्यक्रममा सहभागीहरुले नेपालको आत्मीय सत्कारबाट अष्ट्रेलियनहरु प्रभावित रहेको र भूकम्प पछि अझ बढी पर्यटकलाई नेपालमा पठाउन सके यसले नेपालको अर्थतन्त्रमा समेत सहयोग गर्नसक्ने चर्चा गरेका थिए । नेपाली अवैतनिक महावाणिज्यदूत कार्यालय भिक्टोरियाले सन् २००८ देखि नेपाल पर्यटन प्रबद्र्धन साँझ हरेक वर्ष भव्यताको साथ मनाउँदै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments