काठमाडौं । लोकगायक बद्री पंगेनी हरेक वर्ष नयाँ लोकगीत गाएर सदाबहार लोकगायकको परिचय बनाउन सफल छन् । त्यतिमात्र होइन, पछिल्लो समय उनी जनताका गीतलाई लोकलयमा ढालेर लोकप्रियता कमाएर जनगायकको परिचय बनाएका छन् । तर, यतिखेर भने उनको चर्चा एमालेको चुनावी गीतसँग जोडिएको छ । उनले गाएको ‘सही पनि एमाले, मै पनि एमाले’ राजनीतिक गीत युटुबमा १० लाखको हाराहारीमा दर्शकले हेरेका छन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बनाइएको एमालेको गीत हेर्नेको संख्या अत्यधिक देखिएको हो । प्रदेश नम्बर ३, ४ र ६ मा भएको स्थानीय तहको निर्वाचनताका नै यो गीत हेर्नेको संख्या १० लाख पुगेको हो । अझै प्रदेश नम्बर १, २, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुन बाँकी नै छ । सरकारले जेठ ३१, असार ९ हुँदै असार १४ गते दोस्रो तहको निर्वाचनको तयारी गर्दा फाइदा भने पंगेनीलाई पुगेको छ ।

उनको गीत एमालेले प्रचार अभियानमा बजाएको छ भने युटुबमा पनि हेर्नेको संख्या अत्यधिक हुँदैछ । गीतमा पंगेनीलाई प्रिया भण्डारीले साथ दिएकी छन् ।

Comments

comments