मेलबर्न । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको लागि महासचिवमा नारायण कोइरालाले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

मंगलवार आयोजित एक समारोहकाबीच कोइरालाले एनआरएन अष्ट्रेलियाको महासचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । कोइराला ब्रिसबेन निवासी हुनुहुन्छ । उहाँ वर्तमान एनआरएन अष्ट्रेलियाका सल्लाहकार हुनुहुन्छ ।
यस्तै क्वीन्सल्याण्ड संयोजक एवं उपाध्यक्ष पदमा पनि ब्रिसबेनबाट उम्मेद्वारी घोषणा भएको छ । उपाध्यक्ष एवं क्वीन्सल्याण्ड संयोजक पदमा सन्तोष कुँवरले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै महासचिवका प्रत्यासी कोइरालाले सन् २००५ देखि एनआरएन अष्ट्रेलियामा आबद्ध रहेर विभिन्न तहमा रही आफूले योगदान दिदै आएको दाबी गर्नुभयो । उहाँले नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डको सचिव र अध्यक्ष समेत भएर नेपाली समुदायको सेवामा संलग्न रहेको अनुभव पनि सुनाउनुभयो । उहाँले एनआरएनको उचाईलाई कायम राख्न आफ्नो उम्मेदवारी औचित्यपूर्ण हुने जिकिर गर्नुभयो ।

उपाध्यक्ष एवं क्वीन्सल्याण्ड संयोजकका प्रत्यासी सन्तोष कुँवरले आफू सदैव टिमवर्कको पक्षमा रहेको बताउँनुभयो ।टिमवर्कका रुपमा काम गर्न सके अपेक्षाकृत सफलता प्राप्त हुने विश्वास रहेको उहाँले सुनाउनुभयो ।

घोषणा कार्यक्रममा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएका टोनु घोतानेले समेत उपस्थित थिए । यसैगरी उम्मेद्वारी घोषणा कार्यक्रममा शुभकामना दिनका लागि आईसीसी सदस्य ईश्वर कुईकेल, एनसीसी सदस्य डा. देवराज पौडेल पनि पुगेका थिए । यसैगरी कार्यक्रममा अध्यक्ष पदको निम्ति उम्मेद्वारी घोषणा गरिसकेका वर्तमान महासचिव टोनु घोतानेले विश्वको ७० भन्दा बढी देशमा फैलिएको अन्तर्राष्ट्रिय संगठन भएको स्मरण गराउदै विश्वभरिको सञ्जालसँग जोडेर अष्ट्रेलियावासी नेपालीको हितमा काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले अष्ट्रेलियामा क्रियाशील रहेका अन्य नेपाली सामूदायिक संघ संस्थासँगको सहकार्य, एनआरएनको आर्थिक पारदर्शीता लगायतका विषय आफ्नो मूख्य एजेण्डा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा आविष्कार पाण्डे, उमेश खड्का,मन्दिप केसी, सविता सिग्देल, प्राप्ति थापा, भोलानाथ घिमिरे लगायतले पनि एनआरएन अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितिमा रहेर काम गर्ने ईच्छा व्यक्त गरेका थिए ।

Comments

comments