कास्की । पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वा्चित पदाधिकारीले आइतबार पदभार ग्रहण गरेका छन् । निर्वा्चित मेयर मानबहादुर जीसी र उपमेयर मञ्जुदेवी गुरुङले पोखराको न्युरोडस्थित महानगरपालिकको कार्यालयमा पदभार ग्रहण गरे ।

पदभार ग्रहण गरेलगत्तै मेयर जीसीले ३ आदेशमा हस्ताक्षर गरेका छन् । महानगरपालिकाबाट दिइने सेवा प्रवाहलाई १० दिनभित्र प्रभावकारीरुपमा देखिने बनाउने, नेपाल सरकारले ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तामा आगामी आर्थिक वर्षबाट लागू हुने गरी १० प्रतिशत रकम महानगरपालिका कोषबाट थप गरी वितरण गर्ने र महिला हिंसा सम्बन्धि मुद्दामा कार्यालयले निस्शुल्क कानूनी परामर्श सेवा उपलब्ध गराउने उनले निर्णय गरे ।

एमालेबाट निर्वाचित मेयर जीसीले चुनावी घोषणापत्रको अक्षरश पालना गर्ने प्रतिवद्धता अनुरुप वृद्ध भत्तामा रकम थप्ने निर्णय गरेको बताए । ‘धेरै व्ययभार पर्दैन भन्ने हिसावले वृद्ध भत्ता वृद्धि गरिएको हो,’ उनले भने, ‘श्रोत व्यवस्थापन गर्न चुहावट रोक्छौं ।’ उनले महानगरका बेरोजगार युवाको तथ्यांक लिएर सीप हस्तान्तरण कार्यक्रम अघि सार्ने पनि उक्त अवसरमा बताए ।

महानगरपालिकामा हाल ७० वर्ष माथिका १३ हजार १ सय ७ जना वृद्धवृद्धा छन् । उनीहरुलाई आगामी आर्थिक वर्षमा अहिले उपलब्ध गराउने मासिक २ हजार रुपैयाँमा १० प्रतिशत वृद्धि गर्दा महानगरपालिकालाई मासिक २६ लाख २० हजार ४ सय रुपैयाँ आर्थिक भार पर्छ ।

महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख अनन्तप्रसाद कोइरालाका अनुसार आन्तरिक श्रोतबाट कार्यालयमा वार्षिक करिब ५० करोड रुपैयाँ जम्मा हुन्छ । बढाएको वृद्ध भत्ता रकम वर्षको ३ करोड १४ लाख ५६ हजार ८ सय रुपैयाँ हुन आउँछ । कोइरालाले उक्त रकम जोहो गर्न करको दायरा वृद्धि गर्नुपर्ने बताए ।

शपथ नै भद्रगोल

पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीले आइतबार पदभार ग्रहण अघि प्रमाणपत्र बुझेर शपथ ग्रहण गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको जिल्ला समन्वय समितिको सभाहलमा गरिएको शपथ ग्रहण कार्यक्रम भने निकै भद्रगोल बन्यो ।

सानो हल र निर्वाचन अधिकृतको कार्यालयको कमजोर व्यवस्थापनका कारण शपथ ग्रहण कार्यक्रम अस्तव्यस्त बनेको थियो । मुस्किलले २ सयजना अट्ने सभाहलमा ३३ वडाका १ सय ६५ पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी र कर्मचारीलाई ठेलमठेल गरेर राखिएको थियो ।

मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्यहरुलाई छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइएपनि उनीहरु बस्ने स्थानको बारेमा अन्योलमा परेका थिए । प्रमाणपत्र बुझ्न जाने र फर्किनेको घुँइचोले हलमा ओहोरदोहोर गर्न अप्ठेरो परेको थियो । साउन्ड सिस्टम पनि व्यवस्थित नहुँदा पछाडिसम्म कार्यक्रम सञ्चालकको स्वर नै सुनिएको थिएन । मेयर र उपमेयरले मञ्चमै पुगेर शपथ ग्रहण गरे तर स्थान अभावको कारण वडा अध्यक्ष र सदस्यहरुलाई पनि बसेकै ठाउँमा उभ्याएर शपथ ग्रहण गर्न लगाइयो । सहभागीले साँघुरो ठाउँमा शपथ ग्रहण कार्यक्रम गरेको भन्दै आक्रोश पोखे ।

मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले कार्यालयमै कार्यक्रम गर्नुपर्ने बाध्यताले अन्यत्र नगरेको प्रतिक्रिया दिए । उनले मेयर, उपमेयर र वडाअध्यक्षलाई शपथ खुवाए । वडा सदस्यलाई मेयर मानबहादुर जीसीले शपथ ग्रहण गराए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments